NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

अर्थतन्त्रमा देखिएका समस्याको दीर्घकालिन समाधान खोज्न जरुरी छ : उपराष्ट्रपति

काठमाडाैं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अर्थतन्त्रमा देखिएका समस्याको दीर्घकालिन समाधान खोज्न जरुरी भएको बताएका छन् ।

सोमबार नेपाल चेम्बर अफ कमर्सको पदाधिकारीसँगको भेटवार्ताको क्रममा उनले सो बताएका हुन् । उपराष्ट्रपति यादवले भने, ‘अर्थतन्त्रमा हाल देखिएका समस्याको दीर्घकालिन समाधान खोज्न जरुरी छ ।’ सरकार र निजी क्षेत्रबीच निरन्तर सहकार्य गर्न आवश्यकसमेत रहेकोमा उनले जोड दिए ।

चेम्बर पदाधिकारीसँगको भेटमा उपराष्ट्रपति यादवले अर्थतन्त्रको वर्तमान अवस्था जोखिममा रहेको बताए । तरलता अभाव, उच्च ब्याजदर, पूँजिगत खर्च समयमै हुन नसक्ने, बेरोजगारीजस्ता समस्याको दिगो समाधान खोज्न सकिए मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने उपराष्ट्रपति यादवको भनाइ छ ।

चेम्बर अफ कमर्सले दिएको सुझावलाई आफूले सरकारी निकायमा ध्यानाकर्षण गराउने उपराष्ट्रपति यादवले प्रतिबद्धता जनाए । मुलुकमा बास्तविक तथ्याङ्कको अभावमा सरकारी लगानीको प्रतिफल आउन नसकेको उपराष्ट्रपति यादवले गुनासो गर्नुभयो । निजी क्षेत्रले पनि सरकारको सारथीको रुपमा अध्ययन अनुसन्धानमा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले आर्थिक, औद्योगिक, सामाजिक एवं अन्य क्षेत्रमा लगानी गर्नुअघि वास्तविक तथ्याङ्क खोज्नुपर्ने उनको भनाइ छ । उपराष्ट्रपति यादवसँगको भेटमा चेम्बर अध्यक्ष मल्लले आर्थिक विकास र समृद्धिका लागि समन्वयकारी भूमिका निर्वाह गरीदिन आग्रह गरे । अध्यक्ष मल्लले भने, ‘बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गतिलिन सकेको छैन । पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीमा गम्भीर असर गरेको छ, ।’

पूँजिगत खर्च हुन नसक्ने समस्यालगायतले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लले बताए । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । राजस्व विभाग, राहदानी विभाग, यातायात कार्यलयजस्ता क्षेत्रमा टाइमबाउन्ड लागू हुनुपर्ने अध्यक्ष मल्लको भनाइ छ ।