मुस्ताङको सेकुङ तालमा पर्यटककाे चहलपहल बढ्याे
मुस्ताङ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मुस्ताङको महत्वपूर्ण पर्यटकीयस्थल हो, सेकुङ ताल । यो ताल मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्दछ । जहाँ पछिल्लो समय आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदा तालको गरिमा झन् बढेर गएको छ ।
सडक सञ्जालले छोएपछि दैनिक सयौँको संख्यामा पर्यटक आउन थालेको स्थानीयवासी बताउछन् । बहुचर्चित बेनी– जोमसोम– कोरोला सडक खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने यो तालसम्म पुग्न अहिले लगभग १५ मिनेट लाग्छ । एक वर्ष अगाडि तालसम्म पुग्न पैदलमार्फत जानुपर्ने बाध्यता थियो । पैदल जाँदा करिब डेढ घण्टा लाग्थ्यो । तालबाट दुई ठूला हिमाल धौलागिरि र निलगिरि देख्न सकिन्छ ।
ताल समुद्री सतहदेखि दुई हजार सात सय २५ मिटर उचाइमा अवस्थित छ । तालसम्म पुग्न व्यवस्थित सडक निर्माण सँगसँगै ताल वरपर रिङरोड, पार्किङ, प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिएको वडा नं– २ का अध्यक्ष गौतम शेरचनले बताए । मुस्ताङ जिल्लामा मात्रै करिब आधा दर्जनभन्दा बढी तालतलैया छन् । जसमा अत्यन्तै चर्चित ताल ढुम्बा हो । यो घरपझोङ गाउँपालिका– ५ मा पर्छ । तर अहिले सेकुङ ताल पनि आन्तरिक पर्यटकको प्रमुख रोजाइमा परेको वडाध्यक्ष शेरचनको ठम्याइ छ ।
थासाङ गाउँपालिकाभित्रका प्रमुख आकर्षणको रुपमा रहेको टिटी ताल र भुछर ताललाई समेत विभिन्न निकायले संरक्षण र व्यवस्थापनमा आवश्यक पहलकदमी चालिरहेको अध्यक्ष शेरचनले बताए। गत साल मात्रै तीन वटा तालको संरक्षण र प्रवद्र्धन गर्नको लागि सङ्घीय सरकारले गुरुयोजना नै बनाएर एक करोड ५० लाख बजेट विनियोजनसमेत गरेको थियो । पर्यटकलाई त्यहाँसम्म जाने वातावरण निर्माणका लागि विशेषतः प्रचारप्रसारको खाँचो देखिएको वडाध्यक्ष शेरचनको भनाइ छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया