खोप लगाउन छुटेका बालबालिकाको खोजी
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र खोप लगाउन छुटेका बालबालिकाको घर–घरमा पुगेर खोजी गर्न थालिएको छ ।
वैशाखमा गर्ने भनिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि १६ महिनादेखि ५९ महिनासम्मका खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा पुगेर खोज्न थालिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।
उपमहानगरपालिकाका २३ वडामा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको छ । अभियान प्रभावकारी बनाउन वडा–वडामा गोष्ठी, खोप सुनिश्चितता र कार्ययोजना तयार गरिएको उनले बताए ।
चैत मसान्तसम्ममा खोप नलगाएका बालबालिकाको एकिन गरी खोप लगाइने छ । ‘वडा स्तरदेखि नै छुटेकाको खोजी गरी खोप लगाउने उद्देश्यले घरधुरी सर्वेक्षणमा जुटेका छौँ’, बस्नेतले भने । संयुक्त राष्ट्रसङ्घीय बाल विकास कोष (युनिसेफ) को सहयोगमा घरधुरी सर्वेक्षण भइरहेको छ । घरधुरी सर्वेक्षणको प्रगति र प्रभावकारिताबारे अनुगमन पनि भइरहेको छ ।
हालसम्म वडा नम्बर ३, ८, १४ र २२ मा घरधुरी सर्वेक्षणको काम सकिएको छ । नियमित खोप लगाउन छुटेकाको पहिचान र विश्लेषण गर्ने गरी कार्ययोजना बनाइएको उपमहानगरपालिकाले जनाएको छ । कार्यशालामार्फत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धिसमेत गरिएको छ । वडास्तरमा वडाध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गरिएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया