बुर्किना फासोमा ४४ गाउँलेको हत्या
काठमाडौं (एजेन्सी) । उत्तरी बुर्किना फासोमा बिहीबार भएका दुई आक्रमणमा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।
दुई हमला नाइजरको सीमा नजिकै सहेल क्षेत्रको कोराकु र टोन्डोबी गाउँमा भएको त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस हमलामा गाउँका धेरै मानिस घाइते भए पनि उनीहरुको संख्या भने खुल्न सकेको छैन । लेफ्टिनेन्ट गभर्नरले यो क्षेत्रमा स्थायित्व ल्याउन प्रयास भइरहेको बताए ।
घटनाका एक प्रत्यक्षदर्शीले एएफपी समाचार एजेन्सीलाई ठूलो संख्यामा आतंककारीहरू गाउँ प्रवेश गरेर रातभर गोली चलाएको बताएका छन् ।
उनले भने, ‘शुक्रबार बिहान हामीले धेरै मानिसको मृत्यु भएको देख्यौं।’
केही दिन अघि गाईवस्तु चोर्न खोजेका दुई जिहादीहरूलाई मारिएपछि यो घटना हुन पुगेको बताइएको छ ।
सहेल क्षेत्रका लेफ्टिनेन्ट गभर्नर रोडोल्फो सर्गोले घृणित र बर्बर आक्रमणका लागि जिम्मेवार आक्रमणकारीलाई निस्क्रिय पारिएको दाबी गरेका छन् ।
यस क्षेत्रमा जिहादी हिंसा प्रायः हुने गर्दछ। तर अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैनन् । अधिकारीहरूले यसका लागि ‘सशस्त्र आतंकवादी समूह’ लाई दोष दिएका छन्।
चरमपन्थी संगठन अलकायदा र इस्लामिक स्टेटसँग जोडिएका चरमपन्थी समूहहरू यस क्षेत्रमा सक्रिय छन्।


प्रतिक्रिया