NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

घुस काण्डमा नेताहरू : नारायणकाजीदेखि महरासम्म

काठमाडौं । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं र राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठबीचको आर्थिक प्रकरण बाहिरिएपछि अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

उपचुनावको मुखैमा अडियो सार्वजनिक भएपछि रास्वपालाई थप क्षति पुग्ने देखिन्छ । अडियो प्रकरणलाई लिएर पक्ष र विपक्षमा तिव्र प्रतिक्रिया आइरहेका छन् । रविका विपक्षीहरूले यसैलाई चुनावी हतियार बनाइरहेका छन् । रास्वपाले श्रेष्ठमाथि निलम्बन गरिसकेको छ ।

आर्थिक अपचलनको यो पछिल्लो कडि मात्र हो । यसअघि पनि घुस बार्गेनिङमा ठूला नेता र न्यायाधीशहरू नै मुछिएका छन् । भ्रष्टाचार, घुसखोरी, फौजदारी अभियोग, यौन दुराचार जस्ता गम्भीर अपराधमा शीर्ष नेता, मन्त्री, सांसद र पूर्वमन्त्री लगायत नै विवादमा तानिनु सुशासनसहितको सभ्य समाजका निर्वाणका लागि कलंक बनेको छ ।

यसै विषयमा अहिलेसम्म आर्थिक अपचलनमा अडियो वा भिडियो सार्वजनिक भएको चर्चित ५ काण्डबारे संक्षिप्त विवरण प्रस्तुत गरिएको छ ।

काण्ड–१

परम्परागत पार्टीको विकल्पमा आफू आएको दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नै घुस प्रकरणमा मुछिएका छन् । रास्वपाका सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।

अडियो सुन्दा रास्वपा सरकारमा जानुअघिको देखिन्छ । स्वास्थ्यमन्त्री बन्नका लागि रास्वपाका समानुपातिक सांसद श्रेष्ठले नेतृत्वसँग लबिङ गरेको सुनिन्छ । मन्त्री बन्नका लागि रविका कोर टिमलाई २ करोड बुझाउनु पर्ने बाध्यता श्रेष्ठले प्रसाईंलाई देखाएका छन् । उक्त कुराकानीमा श्रेष्ठले स्वास्थ्यमन्त्री रास्वपाले पाउने पक्का भएको प्रसाईंलाई आश्वस्त गराएका छन् । सोही अडियोमा अभियान्तासमेत रहेका डा.गोविन्द केसीका कारण आफूले पढ्न नपाएको भन्दै प्रसाईंको मन जित्न खोजेको सुनिन्छ । केसीको मृत्युको कामना गरिरहेका सांसद श्रेष्ठको अमानवीय र अशिष्ट भाषा प्रयोगले थप आक्रोस बढाएको छ ।

नागरिकता प्रकरणमा सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत गुमाएका रविले उपचुनावको मुखैमा अडियो प्रकरण सार्वजनिक भएपछि उनी थप अप्ठ्यारोमा परेका छन् । राजनीतिमा भएका बेथितिमाथि हस्तक्षेप गर्ने दाबी गर्दै सुशासन कायम राख्ने दाबी गरेका रविका लागि आफू र आफ्ना सांसदको गतिविधिले थप क्षति पुग्ने देखिन्छ । यद्यपि श्रेठलाई ७२ घण्टाभित्र कारवाही गरी उनले डामेका कोर टिमका व्यक्तिहरूलाई सार्वजनिक गर्ने रविले प्रतिवद्धता जनाएका छन् ।

‘हाम्रा सांसदले २ करोड मागेको अडियो मैले सामाजिक सञ्जालबाट सुनें । यसबारे ७२ घण्टाभित्र छानविन गरी कारवाही गर्न निर्देशन दिएको छु’, उनले भने, ‘निर्देशन दिएको दुई घण्टा बितिसकेको छ । ७० घण्टाभित्र सांसदलाई कारवाही गरिन भने मलाई यहि गढीमाईमा बलि दिए हुन्छ ।’

काण्ड–२

उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहकर्मी तथा पूर्वसांसद कमानसिंह लामासँगको आर्थिक लेनदेनमा मुछिएको अडियो भिडियो सार्वजनिक भयो ।

८ करोड लेनदेन विवादमा श्रेष्ठ र लामाबीच कुरा नमिलेपछि उक्त अडियो/भिडियो २५ मंसिर, २०७७ मा सार्वजनिक भएको थियो । आफूलाई सरल जीवनशैली, नैतिकवान र आर्दश नेता भएको दाबी गर्ने श्रेष्ठले लामा परिवारमाथि भएको अत्याचार प्रकरण बाहिरिएपछि त्यतिबेला श्रेष्ठ निकै आलोचित भएका थिए ।

उनीहरूबीच कुनै कम्पनीमा सहकार्य गर्दा लेनदनेको कारोबार रहेको भिडियोमा प्रष्ट देखिन्छ । लामाले श्रेष्ठसँग अढाई करोड रुपैयाँ लिन बाँकी थियो । लेनदेनमा श्रेष्ठले सहयोगी सुसन कर्माचार्यलाई अगाडि सारेको देखिन्छ । यस प्रकरणमा लामाका कान्छी श्रीमती इन्द्रमाया पनि प्रयोग भएको लामाको अभिव्यक्तिबाट देखिन्छ । वामपन्थी नेता निर्मल लामाबाट प्रभावित भएर राजनीतिमा लागेका उनी एक आर्दश नेता मानिन्थे । स्थायी घर काभ्रे भएका लामा २०४८ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे–३ बाट विजयी भएका थिए ।

२०६३ को अन्तरिम संसदमा समेत सांसद भएका थिए । उनी ओली सरकारको पालामा दक्षिण कोरियाको राजदूतसमेत भए । २०७७ मा कोरोना संक्रमणबाट उनको निधन भइसकेको छ । श्रेष्ठकै कारण मानसिक रूपमा विक्षिप्त भएर लामाको निधन भएको परिवारले आरोप लगाएका छन् । लामाले मृत्युअघि फेसबुकमा राखेको स्टाटसले पनि उनी कति मानसिक तनावमा थिए भन्ने कुराको प्रष्ट संकेत गरेको छ ।
‘हाम्रा माहान पा . का माहान साधु सन्त नेताका यत्तिको नैतिकता र विचार पनि मैले देखिन !!! थुई..क्क जाली फटाहा द्रव्य पिशाचहरू !!!’

काण्ड–३

पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले चिनियाँ अधिकारी सँग ५० करोड मागेको अडियो सार्वजनिक भएपछि उनी निकै आलोचित भए । त्यतिबेला उनी माओवादीको विदेश विभाग प्रमुख थिए । अडियो सार्वजनिक भएपछि त्यतिबेला महराले ‘आफू र पार्टीविरुद्ध सुनियोचित षडयन्त्र’को संज्ञा दिए । यसप्रकरणमा चिनियाँ दूतावासका प्रवक्ता सान यद्धोले समेत चीनलाई विवादमा तान्ने नियोजित उद्देश्यबाट निर्देशित प्रष्टिकरण दिएका थिए ।

२०६७ भदौ १८ गते एक चिनियाँ नागरिकसँग सांसद खरिद गर्नका लागि उनले ५० करोड मागेको आरोप लागेको छ । माओवादीभित्र भद्र र सालिन नेताका रूपमा चिनिएका महरा प्रचण्डका अत्यन्त विश्वास पात्र थिए । त्यसपछि उनी सभामुख रहेकै बेला संसद सचिवालयकी एक कर्मचारीसँगको यौन दुराचार गरेको आरोपमा उनी पक्राउसमेत परेका थिए । यद्यपि जिल्ला आदालत काठमाडौंले उनलाई सफाइ दिएको छ । ५० करोड प्रकरण भने कुनै छानविन नभइ त्यसै सेलायो ।

काण्ड–४

ओली सरकारका सञ्चारमन्त्री रहेका एमालेका नेता गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिद सम्बन्धमा स्वीस कम्पनी केबीए नोटासिसका नेपाल प्रतिनिधि (एजेन्ट) सँग कमिसनबारे छलफल गरेको अडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए । मन्त्रीसँग बाग्रेनिङ नमिलेपछि स्वीस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्माले नै उक्त अडियो प्रकरण मिडियामा ल्याएका थिए ।

७० करोड रुपैयाँ काण्डले चर्चित रहेको उक्त अडियो ८ फागुन, २०७६ मा सार्वजनिक भएको थियो । उक्त काण्ड बाहिरिएपछि मन्त्री पदबाट राजीनामा दिन बास्कोटामाथि चौतर्फी दबाब भयो । भ्रष्टचारीलाई ओली सरकारले संरक्षण दिएको आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । सो अडियो प्रकरणमा मन्त्रालयका सचिवलाई अश्लिल शब्द प्रयोग गरेकोमा समेत उनी निकै आलोचित भएका थिए ।

७० करोड प्रकरणबारे अनुसन्धनका लागि अख्तियार दुरूपयोग आयोगमा उजुरी परेपनि अहिलेसम्म अनुसन्धान प्रकृया अगाडि बढेको छैन ।

काण्ड–५

घुस तथा आर्थिक अपचलन काण्डमा नेता मात्र होइन न्यायाधीशसमेत मुछिएका छन् । ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई छुटाउन वकिल र न्यायाधीशबीच मोल–मोलाइ भएको अडियो बाहिरिएपछि भ्रष्टाचार र घुसकाण्डमा नेपालको न्यायलय पनि अछुतो नरहेको सन्देश दिएको छ ।

तामाङलाई छुटाउनका लागि वि सं २०७८ पुसमा वकिल र न्यायाधीशबीच भएको उक्त संवाद गत असारमा सार्वजनिक भएको थियो । यद्यपि, उनीहरू तामाङलाई छुटाउन भने सफल भएनन् ।

सार्वजनिक भएको १० मिनेटको अडियोमा वकिल रुद्रप्रसाद पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबीच मोलमोलाइ भएको सुन्न सकिन्छ । घुस बार्गेनिङ गरेका न्यायाधीश जिल्ला अदालत काठमाडौंमा कार्यरत थिए ।

अडियोमा वकिल पोखरेलले इच्छाराजलाई १० करोड रूपैयाँ धरौटीमा छुटाउन प्रस्ताव गर्ने र काम मिलाएबापत आफूले दुई करोड रूपैयाँ दाबी गर्ने बताएका छन् । उक्त प्रकरण बाहिरिएपछि न्यायाधीश निलम्बित भएका छन् ।