NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ १ गते

ढाकाकुमार श्रेष्ठ प्रकरणको अर्को अडियो पनि सार्वजनिक

काठमाडौं । रास्वपाका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठसँग जोडिएको अर्को अडियो पनि सार्वजनिक भएको छ ।

दुर्गा प्रसाईंसँग दुई करोड घुस बार्गेनिङ गरेको अडियो सार्वजनिकपछि छानबिनमा तानिएका ढाकाकुमार श्रेष्ठको भाइ बताउने एक व्यक्ति र दुर्गा प्रसाईंबीचको अडियो रेकर्ड सार्वजनिक भएको हो ।

तर यो अडियो ढाकाकुमारका आफ्नै भाइको हो वा प्रायोजित ढंगले तयार गरिएको हो, त्यसको स्वतन्त्र पुष्टि हुनचाहिँ बाँकी छ ।

कपुरबोट डटकम नामक युट्युब च्यानलले सार्वजनिक गरेको अडियो रेकर्डमा ढाकाकुमारका भाइ बताउने व्यक्तिले दाजु फसेको उल्लेख गर्दै दाइलाई भेटिदिन र बचाइदिन प्रसाई, उनका सहयोगीसमक्ष  आग्रह गरेका छन् ।

‘एकचोटि दाइले भेट्न खोज्नुभाथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?,’ ढाकाकुमारका भाइ बताउने व्यक्तिले सोधनी गरेका छन् ।

जवाफमा प्रसाईंले भनेका छन्, ‘म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।’

त्यसैगरी, सोही अडियोमा दुर्गा प्रसाईंका सहयोगी यदु गौतमसँगको अर्को संवाद पनि समावेश छ । जसमा ढाकाकुमारको तर्फबाट सम्पर्क गर्ने व्यक्तिले दुर्गा प्रसाईबाट सकारात्मक भूमिकाको अपेक्षा गरेको बताएका छन् ।

आइतबार ढाकाकुमार र दुर्गा प्रसाईबीच भएको भनिएको एक अडियो सार्वजनिक भएको थियो । जसमा ढाकाकुमारले स्वास्थ्य मन्त्रीमा पार्टीले आफूलाई पठाउन लागेको र त्यसका लागि दुई करोड बुझाउनुपर्ने भएको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग रकम माग गरेको सुन्न सकिन्छ । अडियो सार्वजनिक भएलगत्तै रास्वपाले यसको छानबिन माग गर्दै उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गरेको छ । तर ढाकाकुमारले भने उक्त अडियो आफ्नो नभएर अरु कसैको भएको दाबी गर्दै आएका छन् ।