NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

महानगरको आधिकारिक पत्र कुर्दै शहरी विकास मन्त्रालय

काठमाडौं । देशको प्रशासनिक केन्द्र सिंहदरबार परिसरको फोहर मंगलबार पनि उठेको छैन।

संघले आफूलाई असहयोग गरेको आरोप लगाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको ठाडो आदेशमा फोहर उठाउने कार्य रोकिएको हो । सिंहदरबारको फोहोर नउठेको तीन दिन वितिसक्दासमेत वार्ताका लागि कुनै पहल भएको छैन ।

यसविषयमा महानगरका प्रवक्ता नवीन मानन्धरले सरकार र महानगरबीच जति छिटो वार्ता भयो त्यति छिटो समस्या हल हुने बताउँछन् ।

‘वार्ता जति छिटो भयो समस्या पनि त्यति छिटो समाधान हुन्छ,’ उनले भने, ‘तर सरकार पक्षबाट वार्ताको लागि बोलावट भएको छैन ।’

तर मेयर बालेनले फेसबुकमार्फत १४ मन्त्रालयलाई समेटेर बुँदागत रूपम फोहर नउठाउनुको स्पष्टिकरण दिएपनि आधिकारिक पत्र नपठाएको सरकार पक्षको जिकिर छ ।

शहरी विकास मन्त्रालयका प्रवक्ता प्रदीप परियार वार्ता तथा समन्वयका लागि महानगरले आधिकारिक रूपमा पत्राचार नगरेको बताउँछन् ।

‘हामीले पनि समाचार र फेसबुकबाट मात्रै यो गुनासो सुनेका हौं,’ उनले भने, ‘आधिकारिक रूपमा महानगरबाट केही पनि पत्र आएको छैन । पत्र पाएपछि वार्ताको लागि मन्त्रालय तयार छ ।’

महानगरका प्रवक्ता मानन्धर पनि समस्या समाधानका लागि आधिकारिक प्रक्रिया नपनाएको विषय सत्य भएको स्वीकार्छन् ।

‘आधिकारिक रूपमा पत्राचार नगरेको विषय सत्य हो । यसबारे मेयरलाई नै सोध्नुपर्ने हुन्छ । किन गरिएन भन्ने विषय मलाई जानकारी भएन,’ उनले भने ।

हाल सिंहदरबारको फोहर व्यवस्थापनको जिम्मा परिवर्तन नेपाल नामक निजी संस्थाले पाएको छ । मेयरको ठाडो आदेशकै कारण उक्त संस्था पनि अहिले दोधारमा परिरहेको प्रवक्ता मानन्धरले बताए ।

‘टेन्डर पाएर फोहर उठाउने जिम्मा पाएको संस्था अहिले के गर्ने के नगर्ने भनेर आफैं द्विविधामा परेको अवस्था छ,’ उनले भने ।