NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

बैतडी र सिन्धुलीमा सवारी दुर्घटना, ४ भारतीयसहित १० जनाको मृत्यु

काठमाडौं । बैतडी र सिन्धुलीमा भएका फरक-फरक सवारी दुर्घटनामा चार भारतीयसहित १० जनाको मृत्यु भएको छ । केही घाइते छन् ।

जयपृथ्वी राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको पाटन नगरपालिका–८, झौलेक मोडमा जिप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुने सबै एकै गाउँका हुन् ।

मृत्यु हुनेमा बझाङको केदारस्युँ गाउँपालिका–५, बाँझका ६० वर्षीय मने बोहरा, सोही ठाउँका ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामी रहेका छन् ।

झुलाघाटबाट बझाङको बाग्थलातर्फ जाँदै गरेको से१ज ७६४ नंको जिप मङ्गलबार राति ११ बजे दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । जिपमा सवार अन्य पाँच जनाले हामफालेर ज्यान जोगाएका छन् । बाह्र जना सवार जिप सडकबाट पाँच सय मिटर तल खसेको थियो । जिप चालक फरार छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

त्यसैगरी, गएराति नै बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–३, गढीगेट नजिक कार दुर्घटना हुँदा चार भारतीय नागरिकको मृत्यु भएको छ । सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गएराति १२ः३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । कारमा पाँच जना सवार थिए । मृतक चारै जना पुरुष रहेका छन् । मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए ।

राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो । भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन । “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ”, उनले भने। शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए । कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन ।