NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

‘देशको अवस्थाबारे विचार गरी जनताले मत परिवर्तन गर्न आवश्यक छ ।’

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले  नागरिकका आम समस्या समाधानमा आफूहरु लागिरहेको बताएका छन् । उनले देशको अवस्थाबारे विचार गरी जनताले मत परिवर्तन गर्न आवश्यक रहेकाे बताए ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा आज आयोजित कोणसभामा लामिछानेले देशका समस्या समाधानका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने भन्दै देशका समस्या सबैका साझा भएकाले समाधानका लागि आपसी सहमति र सहकार्य आवश्यक रहेको बताए ।

गुणस्तरीय शिक्षा, बेरोजगारी अन्त्य, सुलभ स्वास्थ्य सबै दलका साझा मुद्दा भएकाले यसमा सहकार्य गरेर अगाडि बढ्नुको विकल्प नरहेको सभापति लामिछानेको भनाइ थियो । ‘मुलुकका समस्या सबै दलका साझा समस्या हुन्, पार्टीबीच सैद्दान्तिक मतभेद होला, तर मुलुकका साझा एजेण्डामा दलबीच फरक मतभेद हुनुहुँदैन,’ उनले भने ।

‘अहिले वादविवाद गर्ने, झै–झगडा गर्ने बेला नभइ देशको विकासका लागि जुट्ने बेला हो,’ उनले भने । रास्वपा कुनै दलको दुश्मन नभइ आम जनताको असलमित्र बन्न चाहेको सभापति लामिछानेले बताए ।

उनले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने स्पष्ट पारे । ‘सांसद ढाकाकुमार श्रेष्ठ सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले पैसाको बार्गेनिङ गरेको थाहा पाएपछि हामीले ऐतिहासिक निर्णय गरेका छौँ’, उनले भने । राजनीतिक यात्रा सुरु भएपछि हरेक किसिमका मानिस पार्टीमा जोडिने भएकाले गलत कुराको सधै विरोध गर्ने उनको भनाइ थियो ।

तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले तनहुँका जनता चेतनशील भएकाले कस्तो नेतृत्व आवश्यक पर्छ भन्नेमा मूल्याङ्कन गर्न आग्रह गरे । उनले जिल्लावासीले गर्व गर्न लायक सांसद बन्ने चाहना रहेको बताउँदै तनहुँको विकासका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।

तीन वटा मुद्दा लिएर चुनावमा होमिएको बताउँदै वाग्लेले शिक्षा, स्वास्थ्य, बाटोघाटो, सिँचाइलगायत विकासका काममा जनतासँगै रहने प्रतिबद्धता जनाए । ‘तनहुँबाट निर्वाचित भएको सांसदले तनहुँमात्र बनाउँदैन, देशलाई कुन दिशामा लैजाने भन्ने विषयमा पनि योगदान रहन्छ’, उनले भने ।