NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार ३ गते
२०८१ असार ३ गते

शिक्षा सुधारका आधारहरू : पहिचान, संस्कार र सिप

काठमाडौं । आजभन्दा ठीक दश वर्षअघि विवेकशील अभियानमा लाग्दै गर्दा नेता मिलन पाण्डे शिक्षण पेशामा थिए । अभियानमा भाग लिँदा-लिँदै पार्टी नै गठन गर्ने भनेर उज्ज्वल थापाहरूसँग होस्टेमा हैंसे मिसाउँदा उनले सोचिसकेका थिए, समाधानमुखी राजनीतिका लागि मुख्य एजेण्डा शिक्षालाई बनाउनुपर्छ ।

समाधानमुखी राजनीति शिक्षाबाटै कसरी त ? उनी आफैंलाई प्रश्न गर्थे । घोत्लिँदै जाँदा बुझे, बेरोजगारी हटाएर रोजगारीमूलक बनाउनका लागि दक्ष जनशक्तिको आवश्यकता हुन्छ । त्यस्तो किसिमको दक्ष जनशक्ति शिक्षाले नै उपलब्ध गराउँछ ।

प्रश्न एउटा मात्र थिएन, अर्को पनि थियो । मनमा उब्जिरहन्थ्यो, राजनीति केका लागि ?

जवाफ सहज थियो, सुशासनका लागि । त्यसको लागि चाहिने संस्कार हो । राम्रो शिक्षा दिन सके संस्कार बलियो र राम्रो हुन्छ भन्ने उत्तर पनि आफैंबाट पाए ।

यस्तै-यस्तै प्रश्नले उनलाई लाग्यो, शिक्षा सुध्रिने हो भने त धेरै कुरा आफैं सुधार हुँदै जाने रहेछ । व्यक्ति मात्रै नभएर पूरा पुस्तामै लगानी गर्नुपर्ने विषय भएको हुँदा शिक्षा सुधारको एजेण्डा जटिल तर लामो रेसको घोडा भएको उनको बुझाइ छ ।

त्यसमाथि अहिलेको राजनीति समाधानमुखी नभएको निष्कर्षमा उनी पुगिसकेका थिए । भाषणको रूपमा विद्यमान समस्याहरूलाई उजागर गरे पनि अहिलेको राजनीतिले समाधान दिन नसकेको गुनासो उनले गरे । शिक्षा सुधारलाई आफूले केन्द्रमा राखेको प्रत्याभूति दिलाउनकै लागि उनले पत्रपत्रिकामा यसबारे लेख रचना लेख्नेदेखि सार्वजनिक मञ्चहरूमा पनि कुरा उठाउँदै आएका छन् । समय मिलाएर कहिलेकाहीं दूरदराजका विद्यालय भ्रमणमा पनि पुगिरहेका हुन्छन् , त्यहाँको अवस्था जान्न र बुझ्न ।

उनको विचारमा समाज रूपान्तरण गर्ने ल्याकत राखेको शिक्षा सुधारका लागि राजनीतिमार्फत बलियो नीति ल्याउने हो भने कायापलट धेरै टाढा छैन । तर हालसम्म शिक्षालाई केन्द्रमा राखेर काम गर्न खोज्ने नेता भने नभेटेको उनले  गुनासो गरे ।

‘९ महिनाको कार्यकालमा बाटो, पुल बनाइदियो भने काम पनि देखिने भयो, धर्म र संविधानमा काम गर्दा सेन्टिमेन्ट कमाइने, जातलाई उचाल्दा सजिलो छ । तर शिक्षालाई ९ महिनामा के सुधार्ने हो र ?,’ आफूले चिनेजानेका नेतालाई प्रश्न गर्दा उनले यस्तै जवाफ पाए ।

नेतृत्व पंक्तिमा भएका व्यक्तिमा शिक्षाको महत्त्वबारे चेतना नभएकै कारण आफ्नो ठाउँबाट इमान्दारितापूर्वक काम गर्दागर्दै पनि यो क्षेत्रमा देखिने गरी परिवर्तन आउन नसकेको उनको भनाइ छ ।

त्यसो भए अहिलेको अवस्थामा सुधार ल्याउन शिक्षाका कुन–कुन विषयमा काम गर्ने त ? उनी प्रष्ट सुनिए – विद्यार्थीको पहिचान, संस्कार र सिप।

विद्यालय तहको शिक्षा सकिने बेलासम्म विद्यार्थीले आफू के हो, को हो, के गर्न जन्मिएको र आफ्नो क्षमता के हो भन्ने कुरामा प्रष्ट हुनुपर्ने उनले बताए । यो कुरा उनीहरूलाई पहिचान गराउने जिम्मेवारी विद्यालय शिक्षाको हुनुपर्ने उनको जोड छ । ‘पहिचान गर्नुपर्छ भनेर लेखेर दिने होइन,’ उनले भने, ‘तर त्यो पहिचानको प्रक्रियामा सहयोग गर्ने हो ।’

शिक्षामा सिकाउनुपर्ने अर्को मुख्य कुरा संस्कार भएको उनले बताए । आज कुनै विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थी कक्षा छोडेर माइतीघरमा गइ एमसीसी या कुनै मुद्दाविरूद्ध नारा लगाउँदै विरुवा ओखल्छन् भने त्यहाँ संस्कारमा समस्या भएको उनले औंल्याए ।

कसैप्रति कृतज्ञ हुन नजान्नु पनि अहिलेको शिक्षाको ठूलो कमजोरी भएको उनको ठम्याइ छ । ‘कसैसँग माफी माग्नुपर्यो भने हाम्रो लागि त्यो निकै ठूलो कुरा हुन्छ,’ उनले भने, ‘सामान्य मर्यादा सिकाउले कुरामा हाम्रो शिक्षा चुकिरहेको छ ।’

तेस्रो समस्या उनले शिक्षालाई सिपसँग जोड्न नसकिएकोमा देखेका छन् । सिपमुखी शिक्षा नभएकै कारण हाम्रा नेताहरू पनि समाधानमुखी नभएर गफाडी भएको उनले आरोप लगाए । ‘हाम्रा नेताहरू र हामी पनि गफाडी धेरै हुनुमा हाम्रो शिक्षा दोषी भएजस्तो लाग्छ,’ उनले भने, ‘गफ लगाउने हैन काम गर्ने हो भनेर पढाइदिए हुन्थ्यो ।’

आफैंलाई पहिचान गर्ने, संस्कारको विकास गर्ने र शिक्षालाई सिपसँग जोड्ने कुरामा सुधार गर्न अब ढिलो गर्न नहुने उनको जिकिर छ ।

उनै पाण्डेसँग नेपालवाचको नियमित भिडियो श्रृंखला एजुकेसन डायलगमा कार्यक्रम प्रस्तोता, शैक्षिक अभियन्ता तथा किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले शिक्षा सुधारका लागि आवश्यक नीति, विद्यमान अवस्था र यसका विभिन्न आयामहरूबारे कुराकानी गरेका छन् ।

हेर्नुहोस् भिडियो

ताजा अपडेट

नेपालवाच विशेष