NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

आठौं पटक मन्त्रिपरिषद् विस्तारको तयारी, को–को हुँदैछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन् । कांग्रेस संस्थापन समूहले एक मन्त्रीको नाम पठाउने तय भएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो समूहबाट एनपी साउदलाई परराष्ट्रमन्त्रीका रूपमा सरकारमा सहभागी गराउन लागेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार प्रधानमन्त्रीलाई साउदको नाम बुझाएका हुन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार आइतबार ३ बजे साउदको शपथको तयारी छ । उनले साउदबाहेक कांग्रेसबाट अरू नाम र अन्य दलबाट भने नाम नआएको बताए । ‘कांग्रेसबाट परराष्ट्रमन्त्रीमा एनपी साउदको शपथ हुने तय भएको हो । ३ बजे राष्ट्रपति कार्यालयमा शपथको कार्यक्रम छ । यसबाहेक कांग्रेसबाट बाँकी र जसपाबाट नाम आएको छैन, आइतबार थप हुन पनि सक्छ । दलहरूले नाम पठाएपछि मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउनेछ,’ उनले नयाँ पत्रिकासँग भने ।

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा ६ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीको काँधमा छ । कांग्रेसले नाम नपठाउँदा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या, जसपाले नाम पठाउन बाँकी वन तथा वातावरण र जनमत सरकारबाट बाहिरिएपछि खानेपानी मन्त्रालयमा मन्त्री छैनन् ।

सभापति देउवा शेखर–गगन समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिन सहमत छन् । आन्तरिक किचलोका कारण कांग्रेसले १७ चैतमा मन्त्रिपरिषद् विस्तार हुँदा आफूले पाएका आठ मन्त्री र एक राज्यमन्त्रीमध्ये चार मन्त्री मात्रलाई सरकारमा पठाएको थियो । बाँकी रहेकामध्ये संस्थापनले पाउने एक मन्त्रालयमा आफ्नो समूहबाट साउदलाई शपथ गराउन लागेका हुन् । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलनिकट सुरेन्द्रराज आचार्यलाई सहभागी गराउने गरी तीन मन्त्री र एक राज्यमन्त्री इतर समूहलाई दिन सभापति देउवा सकारात्मक बनेका हुन् ।

कांग्रेसको शेखर–गगन समूहबाट भने उपनिर्वाचनपछि मात्रै मन्त्रीको नाम पठाउने तयारी छ । यो समूहले चुनावको मुखमा पार्टीमा विवाद हुन सक्ने सम्भावना देखेकाले उपनिर्वाचनलगत्तै नाम पठाउने तयारी छ । सहमहामन्त्री जीवन परियारले इतर समूहबाट पठाउने नामबारे छलफलकै क्रममा रहेको बताए । ‘हामी छलफलकै क्रममा छौँ, टुंगो लागिसकेको छैन । नाम टुंगो लागेपछि शपथ कहिले भन्ने तय हुन्छ,’ परियार भन्छन् ।

डा. शेखर कोइरालाले बिहीबार महामन्त्री गगन थापासहितका नेताहरूसँग उपनिर्वाचनपछि मात्रै मन्त्री पठाउनेबारे ‘ब्रिफिङ’ गरेका थिए । सहभागी एक पदाधिकारीका अनुसार मन्त्री बनाउने नामबारे निर्वाचनपछि टुंगो लगाउने भन्दै तत्कालका लागि उपनिर्वाचनमा केन्द्रित हुन कोइरालाले केन्द्रीय सदस्य र सांसदहरूलाई निर्देशन गरेका थिए । ‘तनहुँ १ र चितवन २ दुवै निर्वाचन क्षेत्रमा परिणाम निकाल्नु हाम्रा लागि महŒवपूर्ण छ । अहिले निर्वाचनमा केन्द्रित बनौँ । कसलाई कहाँ पायक पर्छ निर्वाचनमा परिणाम ल्याउने गरी सक्रिय बनौँ । हाम्रो समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने सहमति बनेको छ । निर्वाचनलगत्तै नामबारे टुंगो लगाउँला,’ कोइरालाको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले नयाँ पत्रिकासँग भने ।

महामन्त्री थापानिकट स्रोतका अनुसार थापालाई तनहुँ १ को जिम्मेवारी रहेकाले पनि तत्काल नामबारे छलफल गरेर विवाद बल्झाउने पक्षमा उनी छैनन् । इतरनिकट डा. स्वर्णिम वाग्ले कांग्रेस छाडेर कांग्रेससँग तनहुँमा प्रतिस्पर्धामा आएपछि इतरलाई परिणाम निकाल्न केन्द्रित हुनुपर्ने दबाब छ । इतरबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, डिगबहादुर लिम्बूको नाम चर्चामा छ । यसबाहेक महिला र भूगोलका आधारमा प्रतिनिधित्वको आवाज पनि कांग्रेसमा छ ।

इतर समूहका सांसद राजेन्द्र बजगाईंका अनुसार संख्याको टुंगो लागेसँगै मन्त्रीको आधार र मापदण्डका विषयमा छलफल भइरहेको छ । ‘मन्त्री बनाउँदा मापदण्ड के हुने भन्ने छलफल भइरहेको छ । आधार तय भएपछि नाम र समय टुंगो लाग्छ,’ उनले भने ।

अर्का सांसद तेजुलाल चौधरीले पनि मन्त्री पठाउँदा समावेशी समानुपातिक प्रतिनिधित्व हुनुपर्ने आवाज रहेको बताए । ‘तीन मन्त्री र एक राज्यमन्त्री इतर समूहले पाउने सहमति भएको छ । सरकारमा सहभागी गराउँदा समावेशी प्रतिनिधित्व हुनुपर्छ भनेर सुझाव दिएका छौँ । कसलाई पठाउने र कहिले भन्ने नेतृत्वले टुंगो लगाउला,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।