NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सांसदले दिए सभामुखलाई प्रधानमन्त्री हराएको सूचना 

काठमाडौं । नयाँ वर्षको तेस्रो दिन प्रधिनिधिसभाको पहिलो बैठक संसद भवन नयाँ बानेश्वसरमा बस्यो ।

नियमित समयअनुसार दिउँसो १ बजे बसेको बैठकको आकस्मिक समयमा सांसदहरूले आ–आफ्ना क्षेत्रका समस्या सभामुखसमक्ष राखे । बोल्ने क्रममा सभामुख देवराज घिमिरेले एमालेका सांसद रघुजी पन्तलाई बोल्ने समय दिए ।

यसअघि आफ्ना विपक्षी र सरकारमाथि कडा रूपमा प्रस्तुत हुने गरेका पन्त आइतबार भन्ने भिन्न शैलीमा प्रस्तुत भए । उनले प्रधानमन्त्री हराएको सूचना सभामुखमार्फत सदनलाई जानकारी गराए । उनको यो सूचना वास्तविक रूपमा प्रधानमन्त्री हराएकोप्रति नभइ संसदमा नआएकोमा व्यांग्य थियो ।

‘सभामुख महोदय, प्रधानमन्त्री हारउनुभएकोले यो सूचना सदनलाई जानकारी गराउन चाहन्छु । फेला पार्ने महानुभावले संसदभवन नयाँबानेश्वरमा बुझाइदिनुहोला’, प्रधानमन्त्री प्रचण्डलाई व्यांग्य गर्दै उनले भने ।

सांसद पन्तको अभिव्यक्तिको खण्डन गर्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीको सपथग्रहण कार्यक्रममा दिउँसो ३ बजे राष्ट्रपति भवनमा सरिक हुने भएकाले त्यहिँ भेट्न जान जवाफ फर्काए ।

‘अघि एकजना माननीयज्यूले प्रधानमन्त्री हराएको सूचना जारी गर्नुभयो । दिउँसो ३ बजे मन्त्रीको सपथग्रहणमा प्रधानमन्त्री सरिक हुने भएकाले उतै भेट्न जान म आग्रह गर्न चाहन्छु’, पन्तलाई जवाफ फर्काउँदै खतिवडाले भने ।

संसदमा प्रधामान्त्री मात्र होइन । मन्त्रीहरू, दलका शीर्ष नेताहरूसमेत उपस्थिति नहुँदा सांसदहरूले पटक–पटक सभामुखको ध्यानाकर्षण गराउने गरेका छन् ।

संसदमा सांसदहरूको उपस्थिति न्यून देखिएकोमा रास्वपाका सांसद हरि ढकालले बैठकको अन्त्यमा अनिवार्य हाजिरीको व्यवस्था मिलाउन सभामुखको ध्यानाकर्षण गराएका छन् । सरकार प्रमुखसमक्ष आफ्ना समस्या राख्न नपाएकाेमा सांसदहरूले गुनासाे पाेख्दै आएका छन् ।

यस्तो छ सांसद पन्तको सूचना

नागरिकताको नाम : पुष्पकमल दाहाल

चलनचल्तिका नाम : प्रचण्ड

स्थायी ठेगाना : फेरिराख्ने

अस्थायी ठेगाना : कहिले खुमलटार त कहिले बालुवाटार

हुलिया : पहिले कोट पाइन्ट लगाउने गरेको, हाल दौरा सुरुवाल र टोपी लगाउने

उमेर : ६५ वर्ष नाघेको ७० वर्ष पुरा नभएको

अन्तिमपटक देखा परेको : बालुवाटारको छेउछाउ

उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएको र हाल संसदमा आउने छाडेकाले फेला पार्नुहुने महानुभावले संसद भवन नयाँबानेश्वरमा बुझाइ दिनुहोला

धन्यवाद ।