NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चालकको अवस्थाप्रति रविको भावुक स्टाटस : चोट लागेको बेला नुन चुक बोकेर नआउनु होला

काठमाडौं । रास्वपाका सभापति रवि लामेछानेले आफ्ना गाडी चालक शम्भु थापाको अवस्थामा सुधार आएको बताएका छन् । सोमबार फेसबुकमा एक स्टाटस लेख्दै उनले थापाको अवस्थाबारे जानकारी दिएका हुन् ।

आफू नेता भन्दा पहिले मानिस भएको भन्दै चोट लागेको समय सहानुभूति र प्रार्थनाको सट्टा नुन चुक बोकेर नआउन रविले आग्रह गरेका छन् ।

‘बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला। स्तरहिन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला।’ उनले भावुक हुँदै लेखेका छन् ।

रविले आफ्ना सहयोगी अस्पतालको शैयामा संघर्ष गरिरहेको हुनाले उसका लागि सबैमा प्रार्थना र स्वास्थ्य लाभको कामना गर्न अनुरोध गरे । राजनीति गर्न पुरै जीवन बाँकी रहेको हुँदा यस्तो संवेदनशील समयमा मौका नछोप्नसमेत उनकाे आग्रह छ। चालक थापा बिहान उनकै निवासको तीन तलामाथि छतबाट खसेर गम्भीर घाइते भएका थिए ।