NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

बेंगलोरमाथि चेन्नईको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले रोमाञ्चक जित निकालेको छ । सोमबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलोरमाथि चेन्नईले ८ रनको रोमान्चक जित हासिल गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २२६ रन बनाएको थियो । चेन्नईले दिएको लक्ष्य पछ्याएर अघि बढेको बेंगलोरले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै मात्रै २१८ रन बनाउन सक्यो ।

बेंगलोरको लागि ग्लेन म्याक्सवेल र कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय इनिङ खेले । म्याक्सवेलले ३६ बल खेल्दै ३ चौका र ८ छक्कासहित सर्वाधिक ७६ रन बनाए भने डु प्लेसिस ३३ बलमा ५ चौका र ४ छक्कासहित ६२ रनको योगदान दिए । यो जोडीले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे पनि बेंगलोरका लोअर अर्डरले टिमलाई जित दिलाउन सकेनन् । बेंगलोरका दिनेश कार्तिकले २८ रन र सुयश प्रभुदेशाई १९ रनको योगदान दिए ।

यसक्रममा चेन्नईका तुसार देशपाण्डेले ३ र मथिसा पाथिरानाले २ विकेट लिए तथा आकाश सिंह, मोइन अली र महेश थिक्सेनाले समान १–१ विकेट लिए ।

त्यसअघि चेन्नईले ६ विकेट गुमाएर २२६ रन बनाएको थियो । चेन्नईको जितमा कानवेले ४५ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै सर्वाधिक ८३ रन जोडे । शिभम दुवेले २७ बलमा २ चौका र ५ छक्कासहित ५२, अजिंका रहानेले २० बलमा ३ चौका र २ छक्कासहित ३७ रनको योगदान दिए ।

बेंगलोरका यकुमार वैश्यक, मोहम्मद सिराज, वाएने पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान १ –१ विकेट लिएका थिए ।

योसँगै चेन्नई पाँच खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ भने पाँच खेलमा दुई हार बेहोरेको बेंगलोर २ अंकका साथ सातौं स्थानमा छ ।