NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

कार्यपालिका बैठक बहिष्कार गरेपछि हर्कले मागे वडाध्यक्षहरूको राजीनामा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा अध्यक्षहरूको राजीनामा माग गरेका छन् । कार्यपालिकाको बैठक बस्दिन भन्ने वडा अध्यक्षहरूलाई राजीनामा दिएर बाटो तताउन उनले अनुरोध गरेका हुन् ।

कुनै कारण बिना नै पटक पटक कार्यपालिका बैठक बहिष्कार गर्दै जनादेशको अपमान गरेका कारण आफू यस्तो निर्णय लिन बाध्य भएको मेयर साम्पाङले बताएका छन् ।

वडाहरूमा भइरहेको कामबारे जानकारी लिन खोज्दा समेत नदिएको उनले आरोप लगाएका छन् । यस्तो प्रवृत्तिले संविधानकै धारा २७ मा उल्लेख गरिएको सूचनाको हकको उल्लंघन भएको बताउँदै वडास्तरमा भएका काम सार्वजनिक गर्नसमेत निर्देशन दिएका छन् ।

कार्यपालिका बैठकलाई सुव्यवस्थित बनाउन बैठकमा असभ्य, अशिष्ट र अर्मार्दित भाषा प्रयोग गर्नेहरूलाई स्पष्टिकरण माग्दा अन्यथा नमान्नसमेत उनले स्मरण गराएका छन् ।

उक्त बैठकमा सहभागी वडा अध्यक्षलाई बोल्ने समय सकिएको जानकारी गराउँदा ‘बोल्छु के गर्छस्’ भनिएको साम्पाङको आरोप छ । यस्तो व्यवहारबारे स्पष्टिकरण सोध्दा बैठक नै बहिष्कार गरेपछि उनले विज्ञप्ती जारी गर्दै राजीनामा माग गरेका हुन् ।

‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नैपर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर ष चाहनाको कुरा होइन । यो बाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु,’ जारी विज्ञप्तीमा उल्लेख छ, ‘कसैले म बैठक बस्दिन भन्न पाइदैंन । त्यसैले कर्तव्य पूरा गरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

ताजा अपडेट

नेपालवाच विशेष