NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

लोकसेवा प्रश्नमा डा डिजनको समाधान

काठमाडौं । जनतामा विश्वास देखिन्छ– लोकसेवा आयोग निष्पक्ष छ । त्यसैले निजामती सेवाका लागि आवश्यक कर्मचारी नियुक्त गर्न यसले लिने परीक्षाप्रति आकर्षण छ । इमान्दारीपूर्वक अध्ययन गरेर लोकसेवा उत्तीर्ण भई सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही सन्दर्भलाई ध्यानमा राखी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा उपसचिव डिजन भट्टराई(पिएचडी) ले चालु आवधिक योजना र आर्थिक प्रशासनबारे प्रश्नको समाधान सुझाउनुभएको छ ।

नेपालको चालु आवधिक योजनाको दीर्घकालीन सोच “समृद्ध नेपाल र सुखी नेपाली” रहेको सन्दर्भमा उक्त योजनामा ‘समृद्धि’ र ‘सुख’ लाई कसरी बुझाइएको छ, उल्लेख गर्नुहोस, साथै चालु आवधिक योजनाको दीर्घकालीन राष्ट्रिय रणनीति लेख्नुहोस । ५+५ =१०

१. विषय प्रवेश

चालु आवधिक योजना अनुसार समृद्धि र सुखको बुझाइ

चालु आवधिक पन्ध्रौं योजनामा समृद्धि र सुखको बुझाइ देहाय अनुसार गरिएको छ ।

समृद्धिप्रतिको बुझाइ:

  • सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तरआवद्धता
  • मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग
  • उच्च र दिगो उत्पादन तथा उत्पादकत्व
  • उच्च र समतामूलक राष्ट्रिय आय

सुखप्रतिको बुझाइ :

  • परिष्कृत तथा मर्यादित जीवन
  • सुरक्षित, सभ्य र न्याययपूर्ण समाज
  • स्वास्थ्य र सन्तुलित पर्यावरण
  • सुशासन
  • सबल लोकतन्त्र
  • राष्ट्रिय एकता, सुरक्षा र सम्मान

२. चालु आवधिक योजनाको दीर्घकालीन राष्ट्रिय रणनीति

चालु आवधिक योजनाको दीर्घकालीन राष्ट्रिय रणनीतिहरु देहाय अनुसार रहेका छन् :

१. तीब्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि गर्ने,
२. सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चिता गर्ने,
३. आन्तरिक तथा अन्तरदेशीय अन्तरआवद्धता एवम् दिगो शहर बस्ती विकास गर्ने,
४. उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने,
५. पूर्ण दिगो र उत्पादनशील सामाजिक सुरक्षा तथा संरक्षण गर्ने,
६. गरिवी निवारण र आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने,
७. प्राकृतिक श्रोतको संरक्षण र परिचालन तथा उत्थानशीलता विकास गर्ने,
८. सार्वजनिक सेवाको सुदृढीकरण, प्रादेशिक सन्तुलन र राष्ट्रिय एकता सम्बद्र्धन गर्ने,

आर्थिक प्रशासनको क्षेत्र र कार्यलाई बुँदागत रुपमा उल्लेख गर्दै नेपालमा आर्थिक प्रशासनका क्षेत्रमा संलग्न निकायहरु र तिनका प्रमुख भूमिकालाई छोटकरीमा प्रस्तुत गर्नुहोस । ५+५ =१०

आर्थिक प्रशासन : क्षेत्र, कार्य र नेपालमा संलग्न निकाय र तिनको भूमिका

१. आर्थिक प्रशासनको परिचय :

आर्थिक स्रोत साधनको सङ्कलन, बाँडफाँड, उपयोग, लेखाङ्कन, प्रतिवेदन, मूल्याङ्कन र पृष्ठपोषणको समग्र पक्ष नै आर्थिक प्रशासन हो । सार्वजनिक प्रशासनको अभिन्न अङ्गको रुपमा रहेको आर्थिक प्रशासन राज्यको आय, व्ययको व्यवस्थापन, आर्थिक वृद्धि, आर्थिक स्थायित्व र सामाजिक न्याय हासिल गर्ने प्रमुख माध्यमका रुपमा रहेको हुन्छ ।

२. आर्थिक प्रशासनको क्षेत्र र कार्य

आर्थिक प्रशासनको क्षेत्र तथा कार्यलाई देहाय अनुसार प्रस्तुत गरिएको छ :

(क) आर्थिक प्रशासनको क्षेत्र

१. आर्थिक योजना
२. बजेट व्यवस्थापन
३. सार्वजनिक खर्च व्यवस्थापन
४. लेखाङ्कन र प्रतिवेदन
५. आन्तरिक नियन्त्रण
६. लेखापरीक्षण

(ख) आर्थिक प्रशासनको कार्य

१. वित्तीय स्रोत साधनको अनुमान र पहिचान
२. वित्तीय स्रोत साधनको प्राप्ति
३. वित्तीय स्रोत साधनको बाँडफाँड
४. कोष व्यवस्थापन
५. खर्च/उपयोग
६. लेखापालन
७. आन्तरिक नियन्त्रण
८. प्रतिवेदन
९. लेखापरीक्षण
१०. जनशक्ति व्यवस्थापन
३. नेपालमा आर्थिक प्रशासनका क्षेत्रमा संलग्न निकाय र तिनको भूमिका
नेपालमा आर्थिक प्रशासनका क्षेत्रमा संलग्न निकाय र तिनको भूमिकालाई देहाय बमोजिम प्रस्तुत गरिएको छ :

निकायका मुख्य भूमिका

१. संसद (समिति समेत)— आय—व्यय गर्ने, अख्तियारी प्रदान, सरकारलाई जवाफदेही तुल्याउने
२. राष्ट्रिय योजना आयोग— आर्थिक योजना र कार्यक्रम तर्जुमामा समन्वय गर्ने
३. अर्थ मन्त्रालय — बजेट तर्जुमा र कार्यान्वयनको अनुगमन तथा मूल्यांकन
४. सम्बद्ध निकायहरु— बजेट कार्यान्वयन
५. म.ले.नि.का. — सञ्चित कोषको सञ्चालन, लेखाङ्कन र प्रतिवेदन
६. को.ले.नि.का. — बजेट निकासा, आ.ले.प.र प्रतिवेदन
७. ने.रा.बैंक÷अन्य बैंकहरु— खाता सञ्चालन
८. म.ले.प.को कार्यालय— लेखापरीक्षण र मूल्याङ्कन प्रतिवेदन
९. अ.दु.अ.आयोग — अख्तियारको दुरुपयोग र भ्रष्टाचारजन्य कार्यको अनुसन्धान
१०. दातृ समुदाय — आर्थिक तथा प्राविधिक सल्लाह र सहयोग
११. नागरिक समाज — आर्थिक प्रशासनको सुदृढीकरणका लागि सकारात्मक दवाव सिर्जना ।

४. निष्कर्षः

योजना बनाउने देखि लेखापरीक्षण गराउने सम्मका समग्र कार्यहरु नै आर्थिक प्रशासनको क्षेत्रभित्र पर्दछन् । वित्तीय श्रोतसाधनको अनुमान, खर्च, आन्तरिक नियन्त्रण, प्रतिवेदन, लेखापरीक्षणका लगायत माथि उल्लेखित कार्य आर्थिक प्रशासनका कार्य हुन् । सार्वजनिक श्रोतको परिचालनमा सार्वजनिक जवाफदेहिता सिर्जना हुने भएकाले माथि उल्लेखित विविध निकायहरु विभिन्न भूमिकामा रहेर आर्थिक प्रशासनका कार्यमा संलग्न भएका हुन्छन् ।

हामीले सुरु गरेको यो श्रृंखला तपाईंलाई कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला । अनि तपाईंसँग पनि लोक सेवा परीक्षासँग सम्बन्धित कुनै जिज्ञासा, अन्याेलता छन् कि ? यदि छन् भने हाम्रो इमेल ठेगाना [email protected] मा त्यसबारे लेखी पठाउनुहोला । प्राप्त उपयुक्त जिज्ञासा अनुभवी प्रशासक र पूर्वप्रशासकसमक्ष राखेर उहाँहरूले पहिल्याएकाे समाधान यहाँहरूसमक्ष पस्किने छौं ।)

लोक सेवा परीक्षा तयारीसँग सम्बन्धित यसअघि प्रकाशिन सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्