हावाहुरीले हवाई उडान पनि प्रभावित
काठमाडौं । हुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको छ ।
अपराह्नदेखि सुरु भएको हुरीले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनका अनुसार एक घण्टादेखि निरन्तर चलिरहेको हावाहुरीले आन्तरिकतर्फ उडान ‘डिले’ भएका छन् भने अन्तर्राष्ट्रियमा केही उडान आकाशमा फन्को लगाउने ‘होल्ड’ भएका छन् ।
भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज एक घण्टा बढी होल्डमा परेको हो । “वेगले चलेको हुरीले विमानस्थलबाट हुने सम्पूर्ण उडान प्रभावित भएको छ । बीचमा हुरी कम भएकाले आन्तरिक उडानका जहाज अवतरण गरिए पनि पुनः हुरी चलिरहेकाले आन्तरिक उडान स्थगित गरिएको छ । अन्तर्राष्ट्रियका दुई जहाज होल्डमा छन्”, महाप्रबन्धक तिवारीले भने ।
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेकाले देशका पहाडी भेगका कतिपय स्थानमा हल्कादेखि क्षणिक वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा अपराह्नपछि हल्कादेखि क्षणिक वर्षा भएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया