रविका समर्थकले होहल्ला गरेपछि मतदान स्थगित
चितवन । चितवन क्षेत्र नं २ को उपनिर्वाचनका क्रममा एक मतदानस्थलमा मतदान प्रक्रिया स्थगित भएको छ । भरतपुर महानगरपालिका–११ नयाँकिरण माविमा मतदान स्थगित भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै बिहान ११ः३० बजेबाट मतदान स्थगित भएको हो । यस स्थलमा सात केन्द्रबाट मतदान भइरहेको थियो ।
अहिले मतदानस्थलमा छलफल जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए । नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका छन् ।
सर्वदलीय बैठक बसेर मतदान प्रक्रिया सुरु गर्ने तयारी भइरहेको उनले बताए । उनले भने, ‘बैठकको तयारी भइरहेको छ, जटिल समस्या नभएकाले बैठकपछि मतदान सुरु हुन्छ ।’ यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले १२ बजेसम्म ३७ प्रतिशत मत खसेको आचार्यले बताए। आज बिहान ७ बजेबाट मतदान जारी छ ।
यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ मतदाता रहेका छन् ।
त्यसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक तेस्रो लिङ्गी रहेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक–बाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा (एमाले) बाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले सांसद पदच्युत गरेपछि उपनिर्वाचन हुन लागेको हो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया