NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा रविले माफी मागेपछि स्थगित मतदान सुचारू

चितवन । चितवन २ अन्तर्गत नयाँ किरण कमलकुसुम मावि भरतपुर ११ मतदान केन्द्रमा स्थगित मतदान सुचारू भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेकोमा माफी मागेपछि मतदान सुचारू भएको हो ।

दिउँसो रास्वपाका उम्मेदवार रवि लामिछाने आउने क्रममा नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान स्थगित भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले दलका प्रतिनिधिसँगको छलफलपछि मतदान सुरु गरिएको जानकारी दिए । नाराबाजी गरेसँगै आचारसंहिता कार्यान्वयन नभएको आरोप अन्य दलका प्रतिनिधिले लगाएका थिए ।

यसैबीच आज जारी उपनिर्वाचनका क्रममा अहिले ३ः१५ बजेसम्म ५३ प्रतिशत मत खसेको आचार्यले बताउनुभयो । आज बिहान ७ बजेदेखि मतदान जारी छ ।

यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान जारी रहेको छ । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले जनाएको छ । यहाँ एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् ।

जसमध्ये ६३ हजार दुई सय ९१ महिला, ६१ हजार चार सय तीन पुरुष र एक जना तेस्रोलिङ्गी छन् । यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र छन् ।