NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

पार्टी एकता गर्नेगरी छिट्टै समाजवादी माेर्चा बनाउने प्रचण्ड र माधवकाे घाेषणा

काठमाडौं । एउटै समाजवादी मोर्चा बनाउन लामो समयदेखि गृहकार्य गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अब छिट्टै समाजवादी मोर्चा गठन हुने घोषणा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा एकीकृत समाजवादीले राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गदै अध्यक्षद्धय प्रचण्ड र नेपालले घोषणा गरेका हुन् । निर्वाचनअघि नै एउटै समाजवादी मोर्चा बनाएर जान दुवै दल सहमत भएका थिए । तर मोर्चा बनाउन असफल भएपछि तालमेलसहित निर्वाचनमा होमिएका थिए ।

निर्वाचन लगत्तै भविष्यमा पार्टी एकता गर्ने मार्गचित्र लिएर दुवै दलले कार्यदल बनाए । एकीकृत समाजवादीले उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा कार्यदल बनाएको छ । माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा कार्यदल बनाएको छ । यी कार्यदलले गरेको गृहकार्यको आधारमा दुवै जना शीर्ष नेताले समाजवादी केन्द्र बनाउने घोषणा गरेका हुन् ।

‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ र त्यहिँबाट कम्युनिष्ट आन्दोलनको नयाँ ध्रुविकरणतिर जानेछौं । मोर्चामार्फत नेकपामा फर्किनका लागि सबैलाइ अपिल गर्नेछ’ प्रचण्डले भने । प्रचण्डको घोषणालाई समर्थन गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेपालले पनि विचार मिल्ने कम्युनिष्ट पार्टीहरुबीच छिटै समाजवादी मोर्चा बनाएर अघि बढने बताए ।

‘हाम्रो पार्टीले वाम–समाजवादी शक्तिहरुसँग सहकार्यको र एकता गर्ने नीति अघि सारेको छ’, उनले भने, ‘छिट्टै हामी समाजवादी मोर्चा बनाएर, जनताका सामू घोषणा गर्न गइरहेका छौं ।’ विचार, नीति, सिद्धान्त, राजनीतिक कार्यदिशा,संगठनात्मक सोचहरु मिल्यो भने पार्टी एकता नै गरेर अगाडि बढिने नेपालले जिकिर गरे ।

दुवै दलका कार्यदलले तत्काल माओवादी, नेकपा एस, जसपा र नेसपाबीच समाजवादी मोर्चा बनाउने सहमति भएपनि अन्य वामदलसँग छलफल जारी रहेको बताएका छन् ।