NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बाँकेमा सिकलसेल एनिमियाबारे  सचेत गराइँदै

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सलट्यान्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा राजन पाण्डेले सिकलसेल र थालेसेमिया रोगले पु¥याउने क्षति र त्यसबाट सर्तकता अपनाउने विषयमा सचेत गराएका छन् ।

सो रोगबाट जोगिने उपाय बिहेबारी पूर्व रगत जाँच गरी सिकलसेल र थालेसेमिया भए नभएको पुष्टि गर्नुपर्ने डा पाण्डेको भनाइ छ । उनले यदि रोगी र बहाक फेला परे रोगी–रोगी र बहाक–बहाकका बीचमा हुने बिहेबारी रोके भावी पुस्तालाई सिकलसेल तथा थालेसेमियाबाट जोगाउन सकिने उल्लेख गरे ।

उनले रोगी र बहाकबीचमा पनि बिहेबारी गर्न नहुने सुझाव दिए । बाहकले स्वस्थ व्यक्तिसँग बिहे गरे भावी पुस्तामा सिकलसेल तथा थालेसेमिया रोगको प्रभाव न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । उनले थारु समुदायमा सिकलसेल र थालेसेमिया जनस्वास्थ्य समस्याका रुपमा रहेको बताए । अन्य समुदायमा पनि उक्त रोग देखिए पनि थारु समुदायमा बढी रहेको उनको भनाइ छ ।

सिकलसेल एनिमिया सोसाइटीका अध्यक्ष प्रभु चौधरीले सिकलसेल एनिमियाबाट भावी पुस्तालाई जोगाउन यसको जाँच गर्न जरुरी रहेकोमा जोड दिँदै थारु समुदायमा सिकलसेलको बढी प्रभाव पर्नुको कारणबारेसमेत जानकारी गराए ।

कोहलपुर नगरपालिकाका उपप्रमुख सङ्गीता सुवेदीले सिकलसेल र थालेसेमियाका बिरामीको नगरपालिकाले स्वास्थ्य बीमा गराउने बताए। आगामी आर्थिक वर्ष २०८०/८१ देखि बिरामीको पालिकाले स्वास्थ्य बीमा गरिदिने र त्यसको बीमाबापतको रकम पालिकाले तिर्ने उनी बताउँछन् ।