NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० फागुन १९ गते

भावनासँग भावनाका कुराः किन चाहिन्छ भावनात्मक परिपक्वता ?

काठमाडौं । के तपाईंले भावनात्मक बुद्धिमता अर्थात् ‘इमोसनल इन्टेलिजेन्स’ बारे सुन्नुभएको छ ? आफ्ना भावनालाई व्यक्त गर्न तपाईं कत्तिको परिपक्व हुनुहुन्छ ?

आफूले अनुभव गरिरहेका भावनालाई खुलेर व्यक्त गर्नु, आलोचनालाई सहन सक्नु, ‘नो’ भन्नुपर्ने अवस्थामा ढुक्क भएर भन्न सक्नु, गल्तीलाई छिटै आत्मसात गरेर अघि बढ्न सक्नु र समग्रमा आफूले महसुस गर्ने भावनालाई बुझ्न र सन्तुलित बनाउन परिपक्व भएको अवस्था हो भावनात्मक बुद्धिमता ।

तपाईंले कस्तो महसुस गरिरहनुभएको छ ? भनेर कसैले सोधिहालेमा अधिकांशले सजिलै दिने उत्तरमा पर्छन् खुसी र दुःखी । खुसी र दुःखी महसुस गर्नेवाहेकका पनि अनगिन्ती भावना हुन्छन् ।

कसैप्रति रिस, राग, आवेग, इष्र्या, जलन हुनु पनि मानव जीवनका स्वभाविक किसिमका भावना हुन् । जुन हामीले दैनिक रूपमा महसुस गरिरहेका हुन्छौं । तर आफूलाई व्यक्त गर्नुपरेको खण्डमा यी दुईवाहेक अन्य किसिमका भावनाबारे खुलेर भन्न हामीलाई हम्मे हम्मे पर्छ । किन त ?

यसरी खुलेर आफ्ना भावना व्यक्त गर्न नसक्नुको कारण बुझ्न हाम्रो हुर्काइतिरै फर्किनुपर्ने हुन्छ । भावनात्मक बुद्धिमताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकी भावना श्रेष्ठका भनाईमा अधिकांश अभिभावकले आफ्ना बच्चा सानै हुँदा उनीहरूलाई खुलेर कुरा गर्ने वातावरण दिँदैनन् । जब छोराछोरी १६/१७ वर्षको उमेरमा पुग्छन् आमाबाबुले अब चाहीं उनीहरू बिग्रिन्छन् भनेर सबै कुरा खुलेर सेयर गरिदिए हुनेजस्तो आश गर्छन् । सानोमा पर्याप्त समय दिन नसक्ने र एकैपटक किशोरावस्थामा पुगेपछि यस्तो आश गर्नु बेकार भएको उनको भनाई छ।

‘भावना भन्ने कुरा देखाउन हुँदैन, सेयर गर्नु हुँदैन । यो त कमजोर व्यक्तिलेमात्रै महसुस गर्ने कुरा हो,’ उनले भनिन्, ‘ट्याग नै यस्तै बनाइएको छ ।’ काम गर्ने शिलशिलामा धेरै विद्यालयमा उनले बालबालिका र किशोर किशोरीबाट यस्तै उत्तर पाइन् ।

एकपटक यस्तै अध्ययनको क्रममा २४८ जना विद्यार्थीसँग उनीहरूले दैनिक महसुस गर्ने भावनाकाबारेमा कुरा गर्दा श्रेष्ठले निकै निराशाजनक उत्तर पाइन् । धेरैले आफैंदेखि घृणा लाग्ने किसिमको भावना धेरै आउने, कसैले माया नगरेकोजस्तो महसुस भएका कारण पढ्न मन नलाग्ने किसिमका उत्तर दिए । श्रेष्ठकाअनुसार विद्यार्थीहरूमा यस्तो किसिमको भावनाको विकास कोभिड महामारीपछि धेरै देखिएको छ । १३ देखि १९ वर्षका बालबालिकासँग उक्त विषयबारे जानकारी लिइएको थियो ।

यसबारे बालबालिकाहरूलाई विद्यालय तहबाटै सुसूचित गराउनुपर्ने महत्त्व उनले बुझेकी छिन् । तर नेपालको परिवेशमा यसमा पनि चुनौती देख्छिन् उनी । विशेषगरी हाम्रो करिकुलम कोर्स सक्काउने धाउन्नतिरमात्रै लाग्दा यस्ता विषय ओझेलमा पर्ने गरेको उनको बुझाइ छ ।

बच्चाहरूलाई समय दिने, उनीहरूको मनोभावना बुझ्ने विषयलाई विद्यालयहरूले अतिरिक्त क्रियाकलापमा जोड्नु नै गलत भएको उनले बताइन् । कतिपय विद्यालयमा भावनात्मक बुद्धिमतालाई अतिरिक्त क्रियाकलापमा राखिनू आफैंमा हाँस्यास्पद छ । ‘विद्यालयहरूलाई इआइको सेसन छुट्टै दिइएको छ भनेर पैसा लिने गरेका छन् । यो त विद्यार्थीलाई दिर्नैपर्ने कुरा हो । छुट्टै दिने कुरा नै हैन,’ उनले भनिन् ।

त्यसो भए बाल्यवस्थादेखि नै उनीहरूलाई भावनात्मक रूपमा परिपक्व बनाउन के गर्ने त ? यसको आवश्यकता किन छ ? लगायत विभिन्न आयामबारे श्रेष्ठसँग किङ्स कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले कुराकानी गरेका छन् । नेपालवाचको नियमित भिडियो प्रस्तुती एजुकेसन डायलगको यसपटकको श्रृंखलामा भावनात्मक परिपक्वताको बारेमा विस्तृतमा कुराकानी गरिएको हो । संवादको पूरा भिडियो तलको लिंकमा हेर्न सक्नुहुनेछ ।