काठमाडौंमा मध्यम वर्षा, अझै तीन दिन पानी पर्ने

काठमाडौं । काठमाडौं उपत्यकामा आज अपराह्नपछि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ ।
आज पोखरामा २३ दशमलव दुई मिलीमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलीमिटर वर्षा भएको छ । महाशाखाका अनुसार ५० मिलीमिटर मध्यम र ५० मिलीमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।
देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् । उनले भनिन्, “देशका केही स्थानमा आज वर्षा भएको छ भने काठमाडौँ उपत्यका, पोखरा ताप्लेजुङलगायत क्षेत्रमा धेरै वर्षा भएको छ ।”
काठमाडौँमा भारी वर्षासँगै सिंहदरबार वरिपरि न्यूप्लाजा, पुतलीसडक, जमललगायत क्षेत्रको सडक जलमग्न भएका छन् । निरन्तरको वर्षाले सवारी आवागमनमा समेत केही व्यावधान भयो भने गन्तव्यमा पुग्ने सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ ।
अझै तीन दिन वर्षा
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।
“पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको छ । रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ । भोलि र पर्सि पनि वर्षाको सम्भावना छ”, उनले भनिन् । प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन÷चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।
भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया