NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कति पाउँछन् नेपाली क्रिकेटरले तलब ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीलाई हरेक वर्ष वर्गीकरण गर्दै पारिश्रमिक दिने गरेको छ । १८ पुरुष र १२ महिला गरी ३० खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा वर्गीकरण गरिएको छ । जसअनुसार पुरुषतर्फ ‘ए’ श्रेणीका खेलाडीले मासिक ५० हजार, ‘बी’ले ४० हजार र ‘सी’ श्रेणीकाले मासिक ३० हजार पारिश्रमिक पाउँछन् । ‘ए’ श्रेणीमा कप्तान रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी र आशिफ शेख छन् ।

‘बी’मा आरिफ शेख, कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल छन् । त्यस्तै, ‘सी’ श्रेणीमा कमलसिंह ऐरी, विनोद भण्डारी, गुल्सन झा, अर्जुन साउद, अविनाश बोहरा, ललित राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन् । यसअघि ‘ए’ श्रेणीमा रहेका सन्दीप लामिछानेलाई अदालतमा मुद्दा चलेपछि वर्गीकरणमा समावेश गरिएको थिएन ।

महिला खेलाडीमा भने ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा परेकाले क्रमशः १५, १२ र १० हजार पाउँछन् । ‘ए’ श्रेणीमा रुविना क्षेत्री, सीता रानामगर र इन्दु बर्मा छन् । ‘बी’मा काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन् भने ‘सी’ श्रेणीमा कविता जोशी, विन्दु रावल, संगीता राई, ममता चौधरी, ज्योति पाण्डे र अप्सरी वेगम रहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।