दार्चुलामा हिमपहिरो, पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता
काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१, बोलिङ्गमा मंगलबार दिउँसो गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चार महिला र एक पुरुष रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मङ्गलबार दिउँसो ३ बजेतिर खसेको हिमपहिरोमा परी डोटी जिल्ला जोरायल गाउँपालिका बुडर–२ का तीन महिला तथा दुहु गाउँपालिका पोक्से–४ का एक पुरुष र एक महिला बेपत्ता भएका हुन् ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीदत्त भट्टले त्यहाँ बसेका १२ जना यार्सा सङ्कलकमध्ये सात जना सकुशल रहेको जानकारी दिए ।
बेपत्ता भएकाहरूको नाम खुल्न नसकेको उनले बताए ।
डिएसपी भट्ट सशस्त्र प्रहरीको २५ जनाको टोलीसहित मंगलबार साँझ घट्नास्थलमा पुगेका थिए । हिमपहिरो गएका बेला केही यार्सागुम्बा सङ्कलक दाउरा खोज्न त्रिपालबाट बाहिर निस्केका कारण ठूलो मानवीय क्षति हुन नपाएको उनले बताए ।
उनले भने, “घटनास्थल वरपर बाक्लो हिमपात भएको छ, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था छैन ।”
हिमपहिरो गएको स्थानमा सकुशल रहेका सबै यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा लैजान लागेको उनले बताए ।
यार्सागुम्बा सङ्कलक बस्दै आएका केही त्रिपाल हिमपहिरोका कारण पुरिएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सो क्षेत्रमा सर्वसाधारण गएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया