NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

६ श्रीमती र १६ छोराछोरीका ६५ वर्षे पिताले १६ वर्षकी केटीसँग गरे धुमधामसँग बिहे

एजेन्सी । एक ६५ वर्षीय करोडपतिले १६ वर्षीया स्कूलकी छात्रासँग विवाह गरेका छन् । ती ६० वर्षीय पुरूष अरू कोही नभएर ब्राजिलका मेयर हिसाम हुसैन देहैनी हुन् । यो विवाहलाई लिएर मानिसहरु निकै आक्रोशित छन् ।

तर मेयर हुसैन देहैनीसँगको विवाहबाट ती छात्रा भने निकै खुसी छिन् । देहैनीले अहिलेसम्म ६ विवाह गरिसकेका छन् । साथै उनका १६ जना छोराछोरीसमेत छन् । उनले पहिलो विवाह सन् १९८० मा गरेका थिए ।

पछिल्लो विवाह भने उनीहरूले अप्रिल १५ मा विवाह गरेका  हुन् । उनले विवाह गरेका केटी चाइल्ड ब्यूटी क्वीन काउने रोडे क्यामार्गो हुन् । विवाह हुनु चार दिनअघि मात्रै उनी १६ वर्षकी भएकी थिइन् ।

याहू न्युजको रिपोर्ट अनुसार देहैनी १ करोड ४० लाख ब्राजिलियन रियलको सम्पत्तिको मालिक भएको दाबी गरिएको छ । उनीहरुको विवाहको समयमा उनी परान राज्यको अराकुरीमा बस्दै आएका थिए । काउनेसँग विवाह गरेपछि उनले सिद्दानिया राजनीतिक दलबाट राजीनामा दिनुपरेको थियो ।

उनी सन् २००० मा लागुऔषध तस्करी मुद्दामा पनि पक्राउ परेका थिए । यस क्रममा उनी १०० दिनभन्दा बढी हिरासतमा बस्नुपरेको थियो । पछि यस विषयमा अनुसन्धान बन्द भयो।

ब्राजिलमा १६ वर्षको किशोरीले विवाह गर्नु अपराध मानिँदैन । यसका लागि अभिभावकको अनुमति लिए मात्रै पुग्छ । देहैनीकी नयाँ श्रीमती अहिले पनि स्कुल जान्छिन् ।

देहैनीले ती १६ वर्षे किशोरीसँग विवाह गर्नुअघि बेहुलीका दुई आफन्तलाई उच्च पदमा जागिर दिलाएको पनि खबर बाहिर आएको छ । ती दुई आफन्त अरू कोही नभएर बेहुलीका आमा र काकी हुन् ।

मेलअनलाइन रिपोर्टका अनुसार बेहुलीकी ३६ वर्षीया आमाले संस्कृति र पर्यटनका लागि नयाँ सहर सचिव बनेपछि तलबमा १५०० डलर वृद्धि पाएकी छिन् । यससँगै उनकी काकीलाई महासचिवमा नियुक्त गरिएको छ । तर, मेयरले पदको दुरुपयोग गरी उनीहरुलाई जागिर दिलाएको थाहा पाएपछि दुवैलाई पदबाट हटाएको छ ।

ती किशोरीले आफ्नो विवाहको दिनलाई सबैभन्दा खुशीको दिन भनेकी छिन् । देहैनीसँगको आफ्नो तस्बिर सेयर गर्दै उनले क्याप्शनमा लेखेकी छिन्, ‘मेरो जीवनको सबैभन्दा ठूलो प्रेम। मुरी मुरी धन्यवाद।’