NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ३ गते

नेफ्टा चलचित्र अवार्ड सर्‍यो, कहिले हुन्छ ?

काठमाडौं । आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ ।

अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को एघारौँ संस्करण आगामी साउन ६ गते हुने सङ्घले जनाएको छ । ‘हाम्रो तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरेका हौँ, अर्को मितिमा अवार्डलाई थप समावेशी, वृहत र सफल तुल्याउन सजिलो हुनेछ’, नेफ्टा अध्यक्ष पुस्कर लामाले भने ।

नयाँ तालिकाअनुसार यही वैशाख ३१ मा अवार्डका लागि सर्वश्रेष्ठ पाँच जनालाई मनोनयन गरिएको घोषणा गरिनेछ । उत्कृष्ट पाँचमा रहने चलचित्रकर्मीले अवार्डमा सहभागिता जनाउनेछन् ।

‘हामी अवार्डलाई भव्यरूपमा सम्पन्न गर्दै नेपाली कला, संस्कृतिमार्फत चलचित्रको बजार विस्तारसमेत गर्न चाहन्छौँ’, उनले भने । अध्यक्ष लामाका अनुसार २०७९ सालभित्र प्रदर्शन भएका चलचित्रले बयालिस विधामा प्रतिस्पर्धा गर्नेछन् ।

नेफ्टाका विदेशी संस्करण युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।