NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अनुकूल मौसमको प्रतीक्षामा सयौँ सगरमाथा आरोही

काठमाडौं । मौसम अनुकूल भइदिएको भए आजकै दिन सगरमाथाको चुचुरोमा पुग्ने बाटो खुलिसक्थ्यो । पूर्वनिर्धारित तालिकाअनुसार आज सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गर्ने योजना थियो । तर, एकसातादेखि बिग्रिएको मौसमले सगरमाथा आरोहणमा समेत अवरोध पुगेको छ ।

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो बनाइसकेका छन् । उनीहरूले चुचुरोसम्म डोरी टाँगेपछि मात्र आरोहण सुरु हुन्छ । प्रतिकूल मौसमका कारण आइसफल डाक्टरलाई चुचुरोसम्म पुग्न कठिन भइरहेको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीले जनाएको छ ।

सगरमाथा आरोहणको ढोका खुलाउने प्रतीक्षामा रहेका आइसफल डाक्टरजस्तै आरोहणको अनुकूल मौसमका लागि नेपाली र विदेशी गरी चार सयभन्दा बढी सगरमाथा आरोही प्रतीक्षारत छन् । उनीहरू सगरमाथाको आधार शिविर र दोस्रो शिविरमा सुखद आरोहणको पर्खाइमा छन् ।

चुचुरोसम्म बाटो बनाउने आइसफल डाक्टर पनि अनुकूल मौसमको पर्खाइमा आधार शिविरमा छन् । मौसमले साथ दिएमा छिट्टै उनीहरूले सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर आरोहण शुरु भएको सन्देश दिने इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिए । ‘शुरुमा आजसम्म डोरी टाँग्ने लक्ष्य थियो, मौसमको प्रतिकूलताले त्यो अहिले रद्द भइसकेको छ,’ उनले भने, ‘मौसम विवरणअनुसार शनिबार र आइतबार मौसम राम्रो देखाएकाले सायद आरोहण निरन्तर अघि बढ्छ होला ।’

अहिलेको मौसममा सगरमाथा क्षेत्रमा प्रतिघण्टा ३५ देखि ४० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा कठिनाइ भएको हो । सो क्षेत्रमा हावाका साथै हिमपात भइरहेको छ । आरोही केही सगरमाथा आधार शिविरमा छन् भने केही काठमाडौँ फर्किएका छन् । अहिलेको मौसममा आरोहण गर्दा जोखिम हुने भएकाले सबै आरोही अनुकूल मौसमको पर्खाइमा छन् ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले धेरै आरोही सगरमाथा आधार शिविरमा अनुकूल मौसमको प्रतीक्षामा रहेको बताए । ‘उपयुक्त मौसमको पर्खाइमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म पुग्दै पुनः आधार शिविर फर्किरहेका छन्,’ उनले भने, ‘मौसम खुलेपछि सबै आरोहीको सगरमाथा क्षेत्रमा जाम हुन्छ ।’

आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । खिमलाल गौतमको संयोजकत्वमा सम्पर्क अधिकृत, पर्यटन मन्त्रालय, विभाग, नेपाली सेना, नेपाल प्रहरी, हिमालय उद्धार सङ्घ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) र स्थानीय प्रतिनिधिहरू रहेको समिति सम्पर्क कार्यालयमा रहेर सहजीकरण गरिरहेको विभागले जनाएको छ ।

सगरमाथाको दोस्रो शिविरसम्म एसपिसिसीले बाटो बनाएको थियो ।  पछिल्लो एक सातादेखि सगरमाथा क्षेत्रमा मौसमको खराबीले बाक्लो हिउँ पर्नुका साथै हावा चलिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टरहरू सगरमाथाको आधार शिविरमा फर्किएका छन् । मौसम अनुकूल हुनेवित्तिकै चुचुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताउनुभयो । साउथ कोलबाट चुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ ।

लुक्लामा रहनुभएका सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाका अनुसार अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको आधार शिविरमा छन् । सगरमाथा क्षेत्रमा मौसम बिग्रिएका कारण आफूहरू लुक्लामा आराम गरिरहेको उहाँले बताउनुभयो । शेर्पाको कम्पनीबाट मात्रै ८० भन्दा बढी आरोही छन् । आधार शिविरमा रहेका आरोही दोस्रो र तेस्रो शिविरसम्म ओहोरदोहोर गरिरहेका भए पनि पछिल्ला दिनमा मौसम बिग्रिएकाले उनीहरू आधार शिविर ओर्लिएका हुन् ।

वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४३ आरोही समूहका चार सय ६६ आरोहीले आरोहण अनुमति लिएका हुन् । उनीहरूमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो ।

सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका तीन सय २३ र सन् २०२१ मा ४२ समूहका चार सय नौ जनाले अनुमति लिएको विभागको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए ।

हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैँमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मकरूपमा अनुकूल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरूको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ ।

नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपाल तर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथा आरोहणमा नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुगेका थिए ।