शंकर कँडेल आत्महत्या प्रकरण : दुरुत्साहन आरोप लागेका चार्टड एकाउन्टेन्ट पक्राउ
काठमाडौं । पोल्ट्री व्यवसायी शंकर कँडेललाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा अनमोल फिडका चार्टड एकाउन्टेन्ट जीवन रावल पक्राउ परेका छन् ।
आत्महत्या दुरुत्साहनको उजुरीपछि फरार उनलाई जितपुरसिमरा उपमहानगरपालिका–२ बाट बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनले रावल पक्राउ परेको पुष्टि गर्दै अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गर्ने तयारी गरेको जनाएको छ ।
कँडेल गत मंगलबार चितवनमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । घटनापछि प्रहरीले उनको सुसाइड नोटसमेत फेला पारेको थियो जसमा व्यवसायी प्रदीप रुंगाटा र रावलले आफूलाई आत्महत्या गर्न बाध्य पारेको व्यहोरा उल्लेख छ । त्यसकै आधारमा दुईविरुद्ध परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालय, चितवनमा आत्महत्या दुरुत्साहनको उजुरी दिएकोमा रावल पक्राउ परेका हुन् ।
नेपाल दाना उद्योग संघका उपाध्यक्ष रुंगाटामाथि कँडेललाई आत्महत्या गर्न मुख्य भूमिका खेलेको आरोप लागेको छ । परिवारका तर्फबाट प्रहरीमा किटानी जाहेरी परे पनि उनी भने हालसम्म फरार छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले परिवारका सदस्यको उजुरीपछि रुंगाटाको खोजी चलिरहेको जनाएको छ ।
अनमोल फिडका नेतृत्वकर्ता कँडेलले आर्थिक दायित्व थेग्न नसकेपछि केही महिनाअघि रुंगाटालाई उक्त उद्योगको ८५ प्रतिशत सेयर बिक्री गरेका थिए । सेयर बिक्रीपछि आफूले पाउनुपर्ने रकम रुंगाटाले नदिएर मानसिक तनाव दिएको कँडेलको सुसाइड नोटमा उल्लेख छ ।
घटनापछि पोल्ट्री क्षेत्र तरंगित बनेको छ । कुखुरापालक किसान तथा पोल्ट्री क्षेत्रका विभिन्न संघ, संगठन तथा व्यक्तिहरूले कँडेल आत्महत्या प्रकरणमा निष्पक्ष छानबिन गरेर दोषीउपर कारबाही गर्न माग गरेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया