NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

शंकर कँडेल आत्महत्या प्रकरण : दुरुत्साहन आरोप लागेका चार्टड एकाउन्टेन्ट पक्राउ

काठमाडौं । पोल्ट्री व्यवसायी शंकर कँडेललाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा अनमोल फिडका चार्टड एकाउन्टेन्ट जीवन रावल पक्राउ परेका छन् ।

आत्महत्या दुरुत्साहनको उजुरीपछि फरार उनलाई जितपुरसिमरा उपमहानगरपालिका–२ बाट बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले रावल पक्राउ परेको पुष्टि गर्दै अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेस गर्ने तयारी गरेको जनाएको छ ।

कँडेल गत मंगलबार चितवनमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । घटनापछि प्रहरीले उनको सुसाइड नोटसमेत फेला पारेको थियो जसमा व्यवसायी प्रदीप रुंगाटा र रावलले आफूलाई आत्महत्या गर्न बाध्य पारेको व्यहोरा उल्लेख छ ।  त्यसकै आधारमा दुईविरुद्ध परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालय, चितवनमा आत्महत्या दुरुत्साहनको उजुरी दिएकोमा रावल पक्राउ परेका हुन् ।

नेपाल दाना उद्योग संघका उपाध्यक्ष रुंगाटामाथि कँडेललाई आत्महत्या गर्न मुख्य भूमिका खेलेको आरोप लागेको छ । परिवारका तर्फबाट प्रहरीमा किटानी जाहेरी परे पनि उनी भने हालसम्म फरार छन् । जिल्ला प्रहरी कार्यालय, चितवनले परिवारका सदस्यको उजुरीपछि रुंगाटाको खोजी चलिरहेको जनाएको छ ।

अनमोल फिडका नेतृत्वकर्ता कँडेलले आर्थिक दायित्व थेग्न नसकेपछि केही महिनाअघि रुंगाटालाई उक्त उद्योगको ८५ प्रतिशत सेयर बिक्री गरेका थिए । सेयर बिक्रीपछि आफूले पाउनुपर्ने रकम रुंगाटाले नदिएर मानसिक तनाव दिएको कँडेलको सुसाइड नोटमा उल्लेख छ ।

घटनापछि पोल्ट्री क्षेत्र तरंगित बनेको छ । कुखुरापालक किसान तथा पोल्ट्री क्षेत्रका विभिन्न संघ, संगठन तथा व्यक्तिहरूले कँडेल आत्महत्या प्रकरणमा निष्पक्ष छानबिन गरेर दोषीउपर कारबाही गर्न माग गरेका छन् ।