खानेपानी आयोजना अलपत्र
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–९ नाम्जुङमा दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाले करिब रु साढे दुई करोडमा ठेक्का लगाएको खानेपानी आयोजना विसं २०७८ असारमा नै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म निर्माण सम्पन्न हुनसकेको छैन । ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो ।
पहिलोपटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दासमेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छाडेको छ ।
अहिलेसम्म आयोजनाको भौतिक प्रगति करिब ५० प्रतिशतमात्र भएको कार्यालय प्रमुख किरण पौडेलले जानकारी दिए । ‘लिफ्टिङ प्रविधिबाट निर्माण गर्न लागिएको यो आयोजना तीन किलोमिटर टाढा रहेको ढिकुरे रहबाट पानी तानेर वितरण गर्ने गरी सुरु गरिएको हो’, उनले भने, ‘रिजर्भ ट्याङ्कीसहित चारवटा ट्याङकी निर्माण गर्ने गरी आयोजनाको लागत अनुमान छ । ’ टयाङ्की निर्माणको काम भने अहिले उपभोक्ता समितिमार्फत पहिले नै बनेकाले पछिल्लो बजेटबाट पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणलगायतका काम गर्ने गरी सम्झौता भएको थियो ।
प्रमुख पौडेलले ठेकेदार कम्पनीले पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणको काममात्र सम्पन्न गरेको बताए । ‘काम सम्पन्न गरेअनुसार कार्यालयले अहिलेसम्म ठेकेदार कम्पनीलाई एक करोड ३० लाख भुक्तानी गरिसकेको छ’, उनले भने, ‘त्यसबाहेक ११ लाख ठेकेदार कम्पनीले पेश्कीस्वरुप बुझिसकेको छ ।’ प्रमुख पौडेलले अझै नियमित काम गरे असार मसान्तसम्म काम सम्पन्न गर्न सक्ने अवस्था रहेको बताए ।
‘कार्यालयका तर्फबाट हप्तामा एकपटक फोन गरेर पनि काम समयमा सम्पन्न गर्न भनेका छौँ’, उनले भने, ‘टेलिफोनमा मात्र नभएर दुई पटकसम्म त लिखितरूपमा पनि पत्र पठाइसकिएको छ ।’ आयोजना निर्माण सम्पन्न भए कार्यालयले आवश्यक विद्युतीकरणका लागि ठेक्का लगाउने तयारी गरिरहेको प्रमुख पौडेलले बताए ।
आयोजनाबाट पँधेरागाउँ, खोलापारि, माथिल्लो आरुबोटे, डाँडागाउँलगायतका क्षेत्रका करिब दुई हजार तीन सय ७७ घरघुरीमा खानेपानी पु¥याउने लक्ष्य रहेको थियो । ठेकेदार कम्पनी नाना जेभीले भने कोरोनाका कारण आयोजना निर्माणमा ढिलाइ भएको दाबी गरेको उनले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया