NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली भई मौसम सामान्यतया सफा रहने छ ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

उनका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू-भागमा सामान्य हावाहुरीको सम्भावना रहेको छ । यसैगरी आज अपराह्न १,२ बजेपछि केहीबेर तीव्र गतिमा हावाहुरी चल्ने अनुमान रहेको मौसमविद् मानन्धरले बताइन्। उनका अनुसार प्रि-मनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने हुन्छ ।

केही दिन अघि पानी परेका बेला हावाहुरी चलेको थिएन । घाम लाग्न थालेसँगै हावाहुरी चल्न थालेको उनको भनाइ छ । देशका धेरै ठाउँमा आज बिहानैदेखि घाम चर्किएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने मौसम आंशिक बदली छ । यी प्रदेशमा दिउँसो हल्का पानी पर्ने अनुमान गरिएको छ ।

आज राति कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको मौसम भने बदली हुने अनुमान गरिएको छ । तत्काललाई देशभर नै ठूलो पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।