NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

‘बजेटका सिद्धान्त तथा प्राथमिकतामा राखिएका विषय विरोधाभाषपूर्ण’

काठमाडाैं । सांसद रघुजी पन्तले आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषय अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताएका छन् ।

बजेटका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा आज चलिरहेको छलफलमा उनले सो कुरा बताएका हुन् । ‘एकतिस बुँदामा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको प्रस्तुतिमा मूर्तरुप छैन । कुरा बाझिएका छन् । यसो गरिनेछ र उसो गरिनेछ भनिएको छ,’ सांसद पन्तले भने, ‘तर आगामी आर्थिक वर्षको बजेट कहाँ केन्द्रित हुन्छ भनेर यो सिद्धान्त र प्राथमिकताका आधारमा अनुमान गर्न गाह्रो छ ।’

बजेटका सिद्धान्त र प्राथमिकतामा राखिएका बुँदा विरोधाभाषपूर्ण रहेको पनि उनको जिकिर थियो  । ‘संसद्मा प्रस्तुत भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको १६ नम्बर बुँदामा आन्तरिक आवश्यकता पूर्ति गरेर निर्यातयोग्य वस्तुका रुपमा जलविद्युत्लाई विकास गरिनेछ भनेर लेखिएको छ । अर्थात् व्यापार घाटा घटाउन निर्यातयोग्य वस्तुका रुपमा बिजुली रहने बताइएको छ तर त्यही अनुच्छेदमा विद्युत्को खपत बढाइ पेट्रोलियम पदार्थको खपत घटाउने उल्लेख छ,’ उनले भने ।

कृषि र औद्यागिक क्षेत्र विस्तार गरी आयातमा परनिर्भरता घटाउनेतर्फ सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रित हुनुपर्ने धारणा पनि सांसद पन्तले व्यक्त गरे । ‘किसानलाई नगद अनुदान दिइनुपर्ने तथा रैथानेबाली र प्राङ्गारिक खेती प्रवद्र्धन गर्ने नीति सरकारले लिनुपर्छ,’  उनले भने ।

सरकारले विभिन्न आयोजनालाई अनावश्यक स्रोत सुनिश्चित गराएर आर्थिक भार थप्न नहुने पनि सांसद पन्तको भनाइ थियो । त्यसैगरी जलवायु परिवर्तनका असर न्यूनीकरण नेपालको मुख्य एजेन्डाका रुपमा रहनुपर्नेमा उनले जोड दिए ।