NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

टोपबहादुरलाई पक्रन देशभर परिपत्र, आइजिपीको अमेरिका भ्रमण रद्द

काठमाडौं । भुटानी शरणार्थी ठगीमा आफ्नो संलग्नता नरहेको र प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अझै फरार छन् । पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्रन देशभर परिपत्र गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले यससम्बन्धी परिपत्र गरेको हो । साथै पक्राउका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लगायतका निकायबाट पनि प्रहरी परिचालन गरिएको छ ।

पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक हुँदा गत बुधबार रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै थिए । त्यही दिन उनी ‘काठमाडौं गएर प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए । तर, त्यही साँझ छोरा सन्दीप पक्राउ परेपछि उनी बिहीबार बिहानदेखि फरार भएका थिए ।

उता, सोही मुद्दाका कारण नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेका छन् । अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’सम्बन्धी कार्यक्रमको निमन्त्रणमा उनी सोमबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो ।

भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपी कुँवरले भ्रमण रद्द गरेको स्रोत बताउँछ । प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले आइजिपी कुँवरको भ्रमण रद्द भएको पुष्टि गरे, तर कारणबारे जानकारी नभएको बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।