NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

हिरासतमा रहेका सचिवलाई कार्यालयमा ल्याएर एआइजीको सत्कार

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा मुछिएकालाई जोगाउन राजनीतिक नेतृत्व मात्र नभएर प्रहरीकै उच्च अधिकारीहरूसमेत लागिपरेका छन् ।

गृह मन्त्रालयमा रहेका बेला गिरोहका लागि काम गरेको आरोपमा सचिव टेकनारायण पाण्डे प्रहरीको सिंहदरबार हिरासतमा छन् । उनीसँग बयान चलिरहेको छ । तर, एआईजी श्याम ज्ञवालीले शनिबार र सोमबार उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा ‘आतिथ्यता’ दिएका छन् ।

‘तोकिएको कारागारमा रहेका आरोपितलाई अदालत लग्न सकिन्छ तर माथिका प्रहरी हाकिमले आफ्नो कार्यालयमा बोलाएर सत्कार गर्न कसरी मिल्छ ? यस्तो प्रचलन हामीले देखेका थिएनौं,’ प्रहरीकै एक अधिकारी भन्छन् । यो विषयमा प्रतिक्रिया लिन खोज्दा ज्ञवालीसँग सम्पर्क हुन सकेन ।

संगठित गिरोहका संरक्षकहरूलाई बचाउन राजनीतिक तह र प्रहरीका शीर्षस्थहरू लागिपरेको विषयमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी अनर्थ मान्छन् । ‘काठमाडौं प्रहरीमा अनुसन्धान भइरहेकामा त्यसलाई आवश्यक स्रोत साधन उपलब्ध गराउनुपर्नेमा आरोपितलाई नै आफ्नो कार्यकक्षमा बोलाएर भेटघाट र छलफल गर्नुलाई स्वार्थप्रेरित मानिन्छ, यो अनैतिक र दण्डनीय हर्कत हो । यो खबरले एआईजी ज्ञवाली अनुसन्धान कमजोर बनाउने खेलमा लागेका छन् भन्ने अर्थ लाग्छ,’ उनी भन्छन् ।

देशको प्रतिष्ठामा आँच आउने गरी भएको गम्भीर अपराधका आरोपितलाई जोगाउने चलखेलमा शीर्ष नेता लाग्नुले गम्भीर अनर्थको संकेत गर्ने केसीको टिप्पणी छ । ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लग्ने भन्दै पैसा उठाउने जघन्य अपराधले देशको शिर निहुरिएको छ । नीति निर्णय तहमा बस्नेहरू नै यो अपराधमा मतियार बनेको देखिन्छ । यसले विश्व समुदायको नजरमा हामी गिरेका छौं,’ पूर्वन्यायाधीश केसीले कान्तिपुरसँग भने, ‘अब अपराधमा जो–जो संलग्न छन्, उनीहरूलाई बिनादबाब र प्रभाव कारबाहीको दायरामा ल्याउन सकियो भने मात्रै हाम्रो प्रतिष्ठा र विश्वास विदेशी समुदायमा रहन्छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।