NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते
टिप्पणी

संवेदनशील विषयमा असंवेदनशील रवि : एक घण्टाबीचमा पहिला हुँङ्कार, पछि जय जयकार

काठमाडौं । निर्वतमान गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बुधबार १० बजे शरणार्थी प्रकरणसँग जोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गरी सामाजिक सञ्जालमा एउटा पोष्ट गरे ।

जहाँ उनले ‘प्रधानमन्त्रीज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस…’ लेखेका थिए । रविले यो ‘स्टाटस’ लेख्दै गर्दा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उनकै निवास मैजुवहालबाट पक्राउ गरिसकेको थियो ।

३२ दिन गृहमन्त्रालयको नेतृत्व लिइसकेका व्यक्तिले गम्भीर विषयको अनुसन्धान प्रक्रिया कति जटिल हुन्छ भन्ने विषयको ज्ञानसमेत नभएको उनको टिप्पणीबाट देखिन्छ । नक्कली भुटानी शरणार्थी बनाएर विदेश लैजाने ठगी धन्दामा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, बहालवाला सचिव र उच्च राजनीति नेतृत्वको परिवारसमेत जोडिएका विषय भएकाले प्रहरी प्रशासनलाई निष्पक्ष छानविन र अनुसन्धान गर्न पक्कै सहज छैन ।

डिजिटल युगको यो जमानामा अनुसन्धान प्रक्रिया प्रभावित नहोस् भन्नका लागि प्रहरी प्रशासन, गृहप्रशासन, सरकार, राजनीतिक दल निकै संयम र चनाखो हुनुपर्ने देखिन्छ । रविको जस्तै शंका आम मानिसले सरकारमाथि गरेका छन् ।

विगतका अभ्यासबाट पनि दोषीमाथि कारवाही हुनेमा प्रशस्तै प्रश्न उठाउने ठाउँ छ । यति हुँदाहुँदै पनि प्रधानमन्त्री र गृहमन्त्रीको समर्थन भएर नै शरणार्थी प्रकरणको फाइल अगाडि बढाउन प्रहरीले साहस निकालेको छ । यस्तो अवस्थामा अनुसन्धान प्रक्रिया प्रभावित नहोस् भन्नेमा सबैको साथ सरकार र प्रहरी प्रशासनलाई चाहिएको छ ।

तर वैकल्पिक शक्तिको अभ्यासबाट मुलुकलाई सुशासन दिन राजनीतिमा होमिएको एक नेताले बजार हल्लाबीच अनुमानको भरमा अनुसन्धानमाथि हावादारी ‘स्टाटस’ लेख्नुले रविको राजनीति करियरमाथि नै धक्का लाग्न सक्छ । यस्ता संवेदनशील विषयमा उनले राजनीति सुझबुझ देखाउनु, राज्यलाई सहयोग गर्नुको सट्टा बजार खपतका लागि अपरिपक्व र हचुवाको टिप्पणीले जनमानसमा भ्रम सिर्जना भएको छ । अहिले सरकारको नियतमाथि प्रशस्तै प्रश्न उठेपनि शंकाको लाभको सुविधा दिनुपर्ने हुन्छ । त्यसमा रवि जस्ता नयाँ शक्ति अझै बढी जिम्मेवार हुनुपर्ने देखिन्छ ।

सबैभन्दा पहिला उनले प्रधानमन्त्रीलाई सम्बोधन गरेर राखेको पहिलो पोष्ट हेरौं । उनको यो पोष्टलाई दिउँसो साढे दुई बजेसम्म ४२ हजारले लाइक गरेका छन् । ६ हजार ८ सयले कमेन्ट र एक हजार ७ सयले शेयर गरिसकेका छन् । उनको यो पोष्ट पढ्दा वस्तविक सूचनाको आधारमा भन्दापनि मंगलबार शीर्ष नेताहरूबीच भएको भेटघाटलाई पत्रपत्रिकाले लेखेकाे समाचारको आधारमा भिडको मानसिकताबाट प्रभावित भएर ‘पब्लिक सेन्टिमेन्ट क्यास’ गर्नका लागि लेखेकाे प्रष्टै झल्किन्छ ।

यस्तो छ रविको पहिलो ‘स्टाटस’

‘शीर्ष नेताहरुको तिव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहिन, नाम आएकाहररू माथीको अनुसंधान फितलो ! खबरदार, अनुसंधानको लहरोले ठूला नेता र तीनका सन्तानको ‘जगजाहेर तान्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन । यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला । प्रधानमन्त्री ज्यू, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !’

उनले सामाजिक सञ्जालमा लेखेको एक घण्टामै अर्को स्टाटस लेखे । जहाँ उनले प्रहरी, गृहमन्त्री र प्रधानमन्त्रीलाई जय जयकार गरेका छन् । एक घण्टाअघि प्रधानमन्त्रीलाई फाइल खोल्न ज्वरो आएको, एउटा तोप पड्काउन सकस भएको आरोप लागएका उनले सरकारलाई धन्यवाद दिएका छन् ।

दोस्रो ‘स्टाटस’

‘धन्यवाद नेपाल प्रहरी, धन्यवाद गृहमन्त्री ज्यू, धन्यवाद प्रधानमन्त्री ज्यू। यो शिलशिला नरोकियोस् । कुनै हालतमा नरोकियोस् ।’

११ पुसमा प्रचण्ड सरकारमा उपप्रधानमन्त्री एवं गृहमन्त्रीसहित सहभागी भएका रवि नागरिकता प्रकरणमा आफ्नै सानो त्रुटिका कारण ३२ दिनमै पदमुक्त भए ।

राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा एमालेले समर्थन फिर्ता लिँदासमेत उनले कायमै राखेका थिए । पदमुक्त भएपछि पनि सरकारमा जान प्रधानमन्त्री र सत्ता साझेदार दलमाथि निरन्तर दबाब दिएका उनी सफल नभएपछि २२ माघमा सरकारबाट  बाहिरिएका थिए ।

वैशाख १० मा भएको उपनिर्वाचनमा दोस्रोपटक चितवन–२ बाट भारी मतले विजयी भएका उनी पुनः सरकारमा जाने तयारी गरेका थिए । तर गठबन्धनका ठूला दलले तत्काल रास्वपालाई सरकारमा लैजान तयार नभएपछि गत शुक्रबार सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

सञ्चारकर्म छाडेर गत असारमा राजनीतिा आएका रवि परम्परागत दलका कमजोरीमाथि खेलेर समाजिक सञ्जाल तथा मिडियामार्फत भिडलाई प्रभावित पार्न सक्ने चलाख व्यक्तिका रूपमा उनी चिनिन्छन् ।