NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३० गते

‘ज्यूँदो सहिद’ मुकेशको गुमनाम महाप्रस्थान

काठमाडौं । संघीय गणतन्त्र स्थापना भएको १७ वर्षपछि ‘ज्यूँदो सहिद’का नामले चिनिएका मुकेश कायस्थको ३२ वर्षको उमेरमा निधन भएको छ ।

केही दिनदेखि स्वास्थ्यमा थप समस्या भएपछि कायस्थलाई बनेपास्थित शिरमेमोरियल अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार राति उनको निधन भएको मुकेश फाउण्डेशनका अध्यक्ष हीरा शर्माले जानकारी दिए ।

१५ वर्षको उमेरमा यसरी ढलेका थिए मुकेश

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का स्थायी बासिन्दा रहेका उनी २०६२/६३ को जनआन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर गम्भीर घाइते भएका थिए । तत्कालीन शाही राज्य सत्ताविरूद्ध १५ वर्षकै उमेरमा सडकमा निस्किएका उनी २७ चैत, २०६२ मा बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा गोली लागी ढलेका थिए । त्यतिबेला उनी बनेपाकै विद्यासागर स्कुलमा कक्षा ८ मा पढ्दै थिए । उनको बायाँ हातसमेत चल्दैनथ्यो । उपचारको क्रममा गोलीको घाउ निको भएपनि टाउकोमा गम्भीर चोट लागेकाले अचेत अवस्था ओछ्यानमै जीवन गुजारी रहेका थिए । कायस्थ परिवारको उनी एक्लो छोरा हुन् ।

परिवार र स्वास्थ्यर्मीको निरन्तरको स्याहार तथा उपचारपछि कायस्थ देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खाने कुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भए तर २०७५ असारदेखि उनी थप बिरामी परे । दुब्लाउँदै जाने, पहिलेजस्तो हाँस्न र बोल्न बोल्न नसक्दा उनको परिवारलाई ‘पीरमाथि पीर’ थपिँदै गएको थियो ।

‘परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुने गरी घाइते भएपछि हाम्रो हालत के भइरहेको होला, यतिका वर्षसम्म ओछ्यानमै छ, आफैँ मनन गर्नुस्’, उनका बुबा कृष्णमानले भने ।

उनी एक वर्षदेखि बोल्न नसक्ने अवस्थामा थिए । चपाएर खाना खान नसक्ने भएपछि झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएको थियो । बिरामी झन शिथिल हुँदै गएपछि उनलाई पाइपद्वारा खानेकुरा खुवाइँदै आएको थियो ।

‘बिरामी परेयता मुकेशको दायाँ हात र दुवै गोडा थोरै मात्र चल्थे’, बुबा कृष्णमानले भने । उनको चेत खुल्नसके सहयोग मागेर भए पनि थप उपचारका लागि अन्य ठाउँमा लैजाने आशामा बसेका थिए कायस्थ परिवार । पछिल्लो समय मेडिसिटी अस्पतालका चिकित्सक डा. गोपाल रमणले कायस्थको स्वास्थ्य निगरानी गरिरहेका थिए । रमणका अनुसार टाउकोमा जम्ने पानी निस्कने पाइप समय समयमा बन्द हुने हुँदा समस्या भइरहेको थियो ।

भविष्यका एक्लो साहरा १७ वर्षसम्म अचेत रही युवा अवस्थामा निधन भएपछि उनका परिवार भावविह्वल भएका छन् । छोरा ढलेपनि जनआन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ ।

सरकारले के के सुविधा दियाे ?

स्वाथ्योपचारलगायतका लागि कायस्थको नाममा प्रतिष्ठानसमेत स्थापना गरिएको छ । सरकारले उनको उपचार खर्च, रु. १५ हजार मासिक भत्ता, एक सुसारेको लागि रु. छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । कायस्थ परिवारको बैंकको रु. सात लाख ऋणसमेत मिनाहा गरिदिएको थियो । उनलाई २०७८ सालमा तत्कालीन सरकारले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै ‘लोकतन्त्रका योद्धा’ सम्मानसमेत प्रदान गरिएको थियो ।

अनआन्दोलनका क्रममा २५ जनाले ज्यानको आहुती दिएकामध्ये चार जना काभे्रपलाञ्चोकका युवा थिए । सहिद हुनेमा नालाका भीमसेन दाहालले कास्कीको पोखरामा, पनौतीका सगुन ताम्राकारले काठमाडौँको कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवरले बनेपामा तथा नागे्र गगर्चेका सुनिलकुमार लामाले काठमाडौँको जोरपाटीमा ज्यान गुमाएका थिए । उक्त आन्दोलनमा काभे्रपलाञ्चोकका ४० जना घाइते भएका थिए । सहिदका रगतले स्थापाना भएको गणतान्त्रिक मुलुकका शासकले समेत घाइते, अपाङ्ग तथा सहिद परिवार, देश र जनताका लागि केही सहिद परिवारले नगरेको गुनासो गरेका छन् ।

आफ्नै कार्यकालमा देशको मुहार फेर्न किशोर अवस्थामा आन्दोलनमा होमिएका उनी अचेतन अवस्थामै गुमनाम महाप्रस्थान भएका छन् । उनको योगदानले व्यवस्था परिवर्तन भएपनि परिवार तथा देशको अवस्था भने उस्तै रहेको छ । मुकेशको निधनमा प्रधानमन्त्रीले सामान्य दुःख व्यक्त गरेपनि सहिदप्रति राज्यबाट राष्ट्रिय स्तरको सम्मान दिएको देखिएन ।

ताजा अपडेट

नेपालवाच विशेष