NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

शरणार्थी प्रकरणमा ओलीले लुकाएका तथ्य रहस्यमय…

काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिज्ञ र प्रशासकसमेत तानिएकापछि यतिबेल देशको राजनीति नै तरंगित छ । विचौलीयासँग राजनीतिज्ञ र प्रशासकको साँठगाँठले उनीहरूको वास्तविक चरित्रलाई उदाङ्गो बनाएको छ ।

पूर्वउपप्रधानमन्त्री, गृहमन्त्री, वहालवाला सचिव, पूर्वसुरक्षा सल्लाहकार, दलका उच्च नेता तथा तीनीहरूका श्रीमती र छोराहरूसमेत मुछिएकाले यो प्रकरण थप रहस्यमय बन्दै गइरहेको छ ।

शरणार्थी प्रकरणमा धेरै विषय थाहा भएको ओलीको दाबी

यसै शिलशिलामा पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणबारे तथ्य–प्रमाणसहित आगामी संसद बैठकमा वास्तविकता खुलासा गर्ने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले भुटानी शरणार्थी समस्याका विषयमा आफ्नो लामो अनुभवसमेत सुनाएका थिए । भुटानी शरणार्थी समस्या हल गर्न आफूले पहिलो पटक पहल गरेको उनले दाबी गरे । २०५१ मा गृहमन्त्री र २०६४ मा उपप्रधान तथ परराष्ट्रमन्त्री रहेका ओलीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्वीकृतीमा भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुर्नस्थापना कार्य अगाडि बढाएको जिकिर गरे ।

ओली यतिमा मात्र रोकिएनन् शरणार्थी समस्या समाधानका लागि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुश, विदेशमन्त्री कोन्डालिजा राइससम्म भेटेर आफूले प्रस्ताव राखेको दाबी गरे । त्यसपछि डिसीमा कोन्डालिजासँग भएका कुराकानीको रेकर्ड अहिले पनि परराष्ट्रमा हुनसक्ने बताए । ओलीले २००८ देखि भुटानी शरणार्थीको सेटलमेन्ट सुरू भएको र २०१२ देखि यसमा विभिन्न गिरोह सक्रिय रहेको उल्लेख गरे ।

‘कुन शरणार्थीका नाममा कहाँ कहाँ कतिलाई पठाइयो र को संलग्न छ भन्ने विषयमा विस्तृत अध्ययन गरेर तथ्यसहित आगामी ४ गते संसदमा जानकारी गराउने छु’,ओलीले भने ।

ओलीका पछिल्ला अभिव्यक्ति र दाबीमाथि आम मानिसले गम्भीर प्रश्न उठाएका छन् । उनलाई भित्रि विषय थाहा थियो भने पटक पटक मन्त्री तथा प्रधानमन्त्री भइसकेका व्यक्तिले यतिसमयसम्म किन मौन बसे ? उनकै पालामा छानविन गरी दोषीमाथि कारवाही किन गरिएन ? फाइल खुलेपछि उनको दौडधुप किन बढीरहेको छ ? यी विषयमा विश्लेषकहरूले ओलीमाथि पनि छानविन गर्नुपर्ने बताइरहेका छन् ।

ओलीकै पालामा भएको थियो कार्यदल गठन

कोइराला सरकार ढलेपछि उनी दुईपटक देशका प्रधानमन्त्री भइसकेका छन् । ३ असोेज, २०७२ मा नयाँ संविधान जारी भएपछि २५ असोज, २०७२ देखि २० साउन, २०७३ सम्म उनी पहिलो पटक प्रधानमन्त्री थिए । २०७४ को आम निर्वाचनपछि दोस्रो पटक दुई तिहाइ वामपन्थी सरकारका शक्तिशाली प्रधानमन्त्री भए । ३ फागुनमा प्रधानमन्त्री भएका ओली २९ असर, २०७८ सम्म बहाल रहेका थिए ।
तेस्रो मुलुकमा पुनर्वासका लागि छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार, २०७६ मा गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले काम नसक्दै राजनीति संरक्षण प्राप्त गिरोहले झापा, मोरङ, सुनसरी, गोरखा, कास्की, बागलुङ, अर्घाखाँची र दाङलगायत जिल्लाका प्रतिव्यक्ति १० देखि ५० लाखसम्म रकम उठाएको प्रहरीले जनाएको छ ।

ठगी प्रकरणमा राजनीति र प्रशासनिक क्षेत्रका उच्च व्यक्तिहरूकै संलग्नता देखिएपछि प्रहरीले अनुसन्धान दायरा थप फराकिलो बनाउँदै लगेको छ । ओली सरकारका गृहमन्त्री रहेका एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिकसमेत विचौलियासँग मिलेर मोटो रकम असुल गरेको प्रहरीले तथ्य फेला पारेको छ । पक्राउ पुर्जी जारी भएपछि उनी अहिले फरार छन् । थापा २०७४ फागुन १४ गतेदेखि २०७८ जेठ ६ गतेसम्म गृहमन्त्री थिए ।

उनका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईले गिरोहसँग मिलेर गृहको सूचना चुहाउने उनीहरूको स्वार्थ अनुसार नक्कली शरणार्थीको सूची तयार गर्न कार्यदलमा आफ्ना मान्छे राखेका थिए । प्रहरीकाअनुसार राईले पटक–पटक गरी विचौलियाबाट ५ करोडभन्दा बढी रकम असुल गरेका छन् । राईका बाबुछोरा अहिले प्रहरीको फन्दामा परिसकेको छन् ।

गत बुधबार प्रहरीले ओली सरकार उपप्रधानमन्त्री एवं सचिव टोपबहादुर रायमाझीलाईसमेत दोषी रहेको आधारमा अदालतबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी गर्यो । सभामुख देवराज घिमिरेसँगै गृहजिल्लाको एक कार्यक्रममा सहभागी भएका उनी पक्राउ पुर्जी जारी भएपछि फरार छन् । आफ्नै सरकारका दुई जना वरिष्ठ मन्त्री, सुरक्षा सल्लाहकार र तीनका आफन्तसमेत यो घटनामा तानिएपछि बचाउमा ओलीको दौडधुप निकै बढेको छ । बुधबारसम्म षड्यन्त्रमुलक ढंगले रायमाझीलाई फसाउन खोजिएको दाबी गरेका ओली पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि निकै दबावमा आए । सचिव पदबाट निलम्बन गर्न उनी बाध्य भए ।

ओलीमाथि नै शंका

केन्द्रीय कमिटीको सुरूमै शरणार्थी प्रकरणबारे बोलेका ओलीले विचौलीयाबाट प्रत्यक्ष पैसा बुझ्ने व्यक्तिलाई पक्राउ नगरी रायमाझीलाई पक्राउ पुर्जी जारी गरिएकोमा असन्तुष्ट जनाए । रायमाझीको बचाउमा प्रधानमन्त्री पुष्पकलम दाहाललाई भेटेर पटक–पटक दबाब दिएका ओलीले यसप्रकरणा आफूलाई धेरै कुरा थाहा भएकाले ती सबैको अध्ययन पश्चात सार्वजनिक गर्ने धम्कीसमेत दिएका छन् । यसै विषयलाई लिएर ओलीले प्रधानमन्त्रीसँग एक्ला एक्लै र सामुहिक रूपमा आधा दर्जनभन्दा बढी भेट गरिसकेका छन् ।

२०७२ वर्षको उमेरमा ओलीको दौडधुपलाई लिएर नक्कली भुटानी शरणार्थी प्रकरणमा ओली पनि दोषी देखिने दाबी गर्छन पूर्वमन्त्री एवं वामपन्थी नेता राधाकृष्ण मैनाली । ओलीकै कार्यकालमा शरणार्थी सम्बन्धी कार्यदल बनेको, ओली सरकारकै वरिष्ठ मन्त्रीहरू मुछिएकाले उनी पनि दोषी रहेको उनको आरोप छ ।

‘भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा सेटलमेन्ट गर्न ओली सरकारले नै कार्यदल बनाएको छ । त्यो कार्यदल गठन नै गलत मनशायबाट भएको देखिन्छ । यस्तो गम्भीर प्रकरणमा ओलीको स्वीकृती वा संरक्षणबिना कसैले आँट गर्न सक्दैना’, मैनालीले नेपालवाचसँग् कुराकानी गर्दै भने, यसको दोषी रहेको प्रमाण उनकै अभिव्यक्तिले पुष्टी गर्छ । भुटानी शरणार्थी समस्या हल गर भनेर आफूले निर्देशन दिएको स्वीकारेका छन् । यसबारे आफूलाई धेरै थाह छ भनिरहेका छन् । उनी दोषी नभएको भए अहिले किन दौडिएका छन् ? त्यसैले ओलीमाथि पनि छानविन अघि बढाउनु पर्छ ।’

यसैगरी संविधानविद् तथा वरिष्ठ अधिवक्ता डा. भीमार्जुन आचार्यले शरणार्थी प्रकरण निकै नै गम्भीर कसूर र राष्ट्रिय लज्जाको पनि विषय भएको टिप्पणी गर्दै शक्तिशालीमाथि पनि छानविन गर्न दबाब दिनुपर्ने बताएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणले देश कसरी र कस्ताबाट संचालित छ, यसले यसपटक राम्रैसंग उजागार भयो । शक्तिशालीहरू प्रति अनुसन्धान उदासीन हुन सक्छ । खबरदारी गरौं’, उनले भनेका छन् ।

यो प्रकरणको जालो दलका आफूसम्म आइपुग्न सक्ने भयका कारण शीर्ष नेताहरूको दौडधुप बढेको उनले आरोप लगाए । शरणार्थी प्रकरण राज्यविरूद्धको गम्भीर अपराध भएकाले शीर्ष नेताहरूलाई समेत छानविनको घरोमा ल्याउनुपर्ने उनको भनाइ छ ।

नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने संगठित ठगी अपराधमा संलग्न भएका गिरोहहरू धमाधम प्रहरीको फन्दामा पर्न थालेपछि यस प्रकरणमा जोडिएका उच्च शासक र प्रशासकको पोल खुल्दै गएको छ ।

बुधबार मात्रै पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँड पक्राउ परेका छन् । पूर्वउप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । यसअघि नेपाल सरकारका वहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वसुरक्षा सल्लाहकार डा. इन्द्रजित राई पक्राउ परिसकेका छन् ।

यस घटनामा पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाकी श्रीमती, पूर्वमन्त्री खाँणकी श्रीमती मञ्जु खाँणसमेत तानिएका छन् । रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् । पूर्वगृहमन्त्री थापाका छोरा फरार छन् । यो प्रकरणको लहरो अझै माथिसम्म पुग्न सक्ने प्रहरीका उच्च अधिकारीले अनुमान गरेका छन् । त्यसैले प्रहरीले निकै गम्भिरतापूर्वक अनुसन्धान कार्य अगाडि उच्च अधिकारीले जानकारी दिएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष