धवलागिरिको चुचुरोतर्फ लागे आरोही

म्याग्दी । करिब एक महिनाको पर्खाइपछि आरोहीहरु म्याग्दीस्थित धवलागिरि हिमालको चुचुरोतर्फ लागेका छन् ।
आठ हजार एक सय ६७ मिटर अग्लो उक्त हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । गत चैत महिनाको अन्तिम सातादेखि आधार शिविरमा रहेका आरोहीहरु धवलागिरिको चुचुरोको नजिकै पुगेका त्यहाँ रहेका छेपाल शेर्पाले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् ।
छ हजार एक सय मिटर उचाइको धवलागिरिको दोस्रो आधार शिविरबाट सोमबार करिब सात हजार मिटर उचाइमा रहेको तेस्रो शिविरमा आरोही पुगेका उनले बताए । धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरुले आरोहीका लागि बाटो बनाइसकेका छन् ।
दैनिकजसो पानी परेको र हिमपात भएकाले आरोहीहरुलाई समस्या भए पनि स्पेनका ८३ वर्षीय कार्लोस सोरियाको टोली क्याम्प–३ मा पुगेको छ । मौसमले साथ दिएमा मंगलबार चौथो आधार शिविर पुग्ने तयारी गरेको उक्त टोली बुधबारसम्म धौलागिरिको चुचुरो चुम्ने योजनामा छ ।
कार्लोसको आरोहण दलको नेतृत्व सेभेन समिट ट्रकिङ कम्पनीका मिङ तेम्बा शेर्पाले गरेका छन् । यो उनको १३औँ पटकको प्रयास हो । गत वर्ष १२औँ पटकको प्रयासमा कार्लोस सात हजार मिटरको उचाइमा पुगेर फर्किएका थिए ।
धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका उनकाे दुई दशकयता १२औँ पटक आरोहण गर्दा पनि धौलागिरिको चुचुरोमा पुग्ने सपना पूरा हुनसकेको थिएन । पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन् ।
सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईंले आफ्नो कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका बताए । आधार शिविर पुगेर हेलिकप्टरमा फर्किनुभएका म्याग्दी दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले आरोहीहरु चुचुरोमा पुग्न अनुकूल मौसमको पर्खाइमा रहेका बताए ।
‘वैशाखमा धेरै हिउँ परेकाले आरोहणका लागि आएकाहरु बेसक्याम्पमा एक महिनाभन्दा धेरै समय बस्नु परेको थियो,’ पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न उनले भने, ‘मौसम परिवर्तन, तापक्रम वृद्धि र वातावरणीय प्रदूषणको असर हिमालमा पनि परेको छ ।’
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया