NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

भ्रष्टाचारी कसैलाई पनि सरकारले बाँकी नराख्ने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार गर्ने कसैलाई पनि बाँकी नराख्ने बताएका छन् ।

देशको वर्तमान अवस्था भ्रष्टाचारकै कारण थङथिलो बन्दै गएको निष्कर्ष निकाल्दै उनले सरकार निर्मम बनिसकेको बताएका हुन् ।

आज माओवादी केन्द्रको प्रवास समन्वय समितिका टोलीसँगको भेटघाटको क्रममा श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई नछाड्नेबारे फेरि पनि स्पष्ट पारेका छन् ।

‘भ्रष्टाचारको जालो देशमा भयानक ढंगले फैलिएको छ,’ उनले भने, ‘देशलाई थङथिलो बनाउने भ्रष्टाचारीलाई सरकारले छाड्दैन ।’
मुलुकको समृद्धि रोक्नका लागि भ्रष्टाचारले नै मुख्य भूमिका खेलेको उनको निष्कर्ष छ ।

उक्त भेटमा समितिका अध्यक्ष ओम शर्माले मन्त्री श्रेष्ठलाई भ्रष्टाचारविरूद्धको कार्य जारी राख्न प्रेरित गरेका छन् । सरकारले लिएको कदमप्रति सबै प्रवासीहरू खुसी भएको बताउँदै सो काममा खुट्टा नकमाउन पनि आग्रह गरे ।

वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैशी र महासचिव कुन्सा दोर्जे डिम्डोङले वैदेशिक रोजगारीमा गएका श्रमिकले भोग्नुपरेका समस्याबारे गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।