NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सचिव पाण्डेको बयान : खाँणलाई कार्यकक्षमै लगेर १ करोड २४ लाख दिएको हुँ

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाइदिने भन्दै गरिएको ठगी धन्दाका क्रममा गृह मन्त्रालयभित्रै पैसा लेनदेन भएको खुलेको छ । पक्राउ परेका गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डेले मन्त्री (त्यतिवेलाका) बालकृष्ण खाणलाई उनकै कार्यकक्षमा पुगेर आफूले एक करोड २४ लाख बुझाएको बयान दिएका छन् । मन्त्रालयमै आएर बिचौलियाले दिएको पैसा आफूले तत्कालै मन्त्री खाणलाई लगेर बुझाएको उनको लिखित बयानमा उल्लेख छ ।

प्रहरीले अनुसन्धान सकाएर सोमबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ, जसमा सचिव पाण्डेको बयानमा ‘२६ जेठ ०७९ मा बिचौलिया केशव दुलालले मन्त्रालयमै आएर आफूलाई पैसा दिएको र त्यो सबै पैसा तत्कालै मन्त्री खाणको कार्यकक्षमा गएर उनलाई बुझाएको’ उल्लेख छ ।

२० वैशाखमा पक्राउ परेका पाण्डेले सुरुवाती बयानमा ठगी धन्दामा संलग्नताबारे इन्कार गरेका थिए । फम्र्याट गरेको मोबाइलको डेटा प्रहरीले रिकभर भएपछि बिचौलिया दुलाल र उनीबीचको ह्वाट्सएप च्याटबाट प्रहरीले धेरै सूचना पाएको थियो । च्याटमा पाण्डे र दुलालबीच पटक–पटक आर्थिक लेनदेनका विषयमा कुराकानी भएको पाइएको थियो ।

त्यसकै आधारमा प्रहरीले पाण्डेको ततिम्बा (पूरक) बयान गराएको थियो । जसक्रममा उनले पैसा लिएको स्वीकार गर्दै सबै पैसा मन्त्रीलाई बुझाएको बताएका हुन् । यद्यपि, खाणले भने बयानमा सो कुरा अस्वीकार गरेका छन् । बयानका क्रममा उनले त्यसबारे ‘सम्बन्धित व्यक्तिलाई नै सोध्न’ जवाफ दिएका छन् ।

तत्कालीन गृहसचिव पाण्डेको सोही बयानका आधारमा मन्त्री खाणलाई पक्राउ गरिएको थियो । दुलालले पनि मन्त्रालयमै गएर रकम बुझाएको बयान दिए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको थिएन । सचिवले नै पुष्टि गरेपछि गत २६ वैशाखमा प्रहरीले खाणलाई पक्राउ गरेको थियो । रकम बुझेको भोलिपल्ट नै तत्कालीन गृहमन्त्री खाणले बिचौलियालाई फाइदा हुने गरी निर्णय गराएकोसमेत अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । २७ जेठमा उनले छुट भुटानी शरणार्थीको विषयमा अध्ययन गर्न झापाका सहायक सिडिओको अध्यक्षतामा बनेको समितिको म्याद लम्ब्याएर कार्यादेशसमेत थपिदिएका थिए ।

सो समितिलाई उपसमिति गठन गर्ने अधिकार दिनुका साथै बालकृष्ण पन्थी नेतृत्वको कार्यदल कार्यान्वयनका लागि ठोस राय दिनसमेत भनिएको थियो । सोही समितिमार्फत छुट शरणार्थीको नाममा पैसा असुलिएका व्यक्तिहरूको नाम थप्ने योजना बनेको थियो । तर, उपसमितिले स्वार्थअनुसार काम नगरेपछि गृह मन्त्रालयमै प्रतिवेदन किर्ते गरेर आठ सय ७५ जनाको नाम थपिएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।

सचिव पाण्डेले प्रतिवेदन किर्तेबारे आफूलाई कुनै जानकारी नभएको बयान दिएका छन् । मन्त्रीका लागि पैसा मागेको र आफूले कुनै लाभ पनि नलिएको उनको दाबी छ । दुलालसँग उनले ‘मन्त्रीज्यूको गिफ्ट के हुँदै छ’ भनेर बारम्बार सोधेकोसमेत अनुसन्धानमा खुलेको छ । गिफ्ट भनेर पैसाको ताकेता गरेको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

पाण्डे र दुलालबीचकै कुराकानीमा खाणका स्वकीय सचिव रहेका नरेन्द्र केसीलाई पनि पैसा दिने उल्लेख छ । ‘नरेन्द्र केसीले पनि आस गर्छ, त्यसलाई पाँच लाख फालिदिनुपर्ला’ भनेर पाण्डेले दुलाललाई भनेका छन् । सोहीअनुसार पैसा दिइएको दुलालको बयान छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।