NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

खाणलाई हिरासतबाटै सचिव पाण्डेका दुई पत्र

काठमाडौं । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले हिरासतबाटै पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पत्र लेखेर बिचौलियाको बयान फेराउन आग्रह गरेको खुलेको छ ।

उनले लेखेका दुई पत्र प्रहरीले बरामद गरेको छ । दुवै पत्र खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत पठाइएको थियो ।

‘दुलालको पुनः बयान गराएर पुरानो भनेको कुरा सच्याउनुपर्छ, नभए मन्त्रीज्यूसमेतको मुद्दा जान सक्छ । अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग लेनदेन नभएको विषय बयानमा लेखाउनुहोला,’ पहिलो पत्रमा भनिएको छ ।

त्यस्तै, दोस्रो पत्रमा ‘नरेन्द्रजी ओली बा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र थप आरोपित व्यक्तिहरूलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप नलिन सक्छ,’ भनिएको छ ।

ती पत्र पाण्डेले नै लेखेको फरेन्सिक जाँचबाट समेत पुष्टि भएको स्रोत बताउँछ । गत २७ वैशाखमा खाण र केसीलाई पक्राउ गर्ने क्रममै प्रहरीले ती पत्र बरामद गरेको हो ।

पाण्डे भने २० वैशाखमै पक्राउ परेका थिए । पक्राउ परेर बयान दिनुअघि त्यसरी उनले हिरासतबाटै पत्राचार गरेका हुन् ।

पाण्डेले पठाएका दुईमध्ये एक पत्र खाणले प्रहरीको हातबाट खोसेर च्यातिदिएकोमा त्यसलाई टेपले टाँसेर प्रहरीले सुरक्षित बनाएको छ । दोस्रो पत्र नरेन्द्र केसीबाट बरामद भएको हो ।

उनको घरबाट बरामद भएको अर्को एक कागज भने खाणले च्यातेर चपाइदिएको प्रहरी दाबी छ, नयाँ पत्रिकामा खबर छ ।