मेलम्चीको पानी स्थायी रुपमा राजधानी ल्याउन संसदीय समितिले मन्त्रालयसँग छलफल गर्ने

काठमाडौं । राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाबाट स्थायीरूपमा पानी राजधानी ल्याउन नसकिएको खानेपानी मन्त्रालयलगायत सरोकार भएका निकायसँग छलफल गर्ने भएको छ ।
सभाका अध्यक्षसहितको समूहले यही जेठ १ गते आयोजनाको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथान क्षेत्रको अध्ययन गरेपछि तयार पारेको प्रारम्भिक प्रतिवेदनमा छलफल गर्न आज आयोजित बैठकमा सभापति दिलकुमारी थापा रावल पार्वतीले यस्तो जानकारी दिएकी हुन् ।
आयोजनाबारे विस्तृत छलफल आवश्यक भएकाले यही महिनामा मन्त्रालयलगायत सरोकार भएका निकायलाई राखेर छलफल गरी आयोजनाबाट स्थायीरूपमा राजधानीमा पानी ल्याउन गर्नुपर्ने कामका बारेमा निर्देशन दिइने उनले बताइन् ।
बैठकमा सांसद शेखरकुमार सिंहले स्थलगत अध्ययनका क्रममा मेलम्चीको पानीमा गरिएको लगानी बालुवामा हालेको पानीजस्तो देखिएको सुनाइन् । राजधानी वरपरबाट पनि पानी ल्याउने स्रोत खोजी गरिनुपर्ने उनको भनाइ थियो ।
सांसद इन्दिरा गौतमले मेलम्ची नदीको मुहानको भूबनोटका विषयमा पनि विज्ञहरुसँग छलफल गर्नुपर्ने अवस्था रहेको जानकारी दिइन् ।
दीर्घकालीन रुपमा मेलम्चीको पानी राजधानीवासीलाई खुवाउन सकिन्छ कि सकिन्न भनी विज्ञको सुझाव लिनुपर्नेमा उनले जोड दिइन् ।
सांसद दीपा गुरुङले समितिबाट २०७६ सालमा गरिएको अनुगमनमा भन्दा २०७८ असार १ गतेको बाढीपछि यसपटक गरिएको अनुगमनमा धेरै क्षति भएको पाइएको बताइन् ।
सांसद रामचन्द्र राईले ठूला उपकरण लगाएर सफा गरे मेलम्चीको मुहानस्थल जाने पहुँचमार्ग बनाउन कठिन नहुने बताए । प्राथमिकतामा नपरेको र इच्छाशक्ति पनि नभएकाले आयोजनामा बाढीले बिगारेको संरचना निर्माण गर्न ढिलाइ भएको उनको भनाइ थियो ।
सांसद गोपी आछामीले पहुँचमार्गका पुल बाढीले बगाएकाले वर्षामा मुहान क्षेत्रमा बाढी पन्छाउन जान नसकिने अवस्था रहेको बताए ।
ताजा अपडेट
-
बिहानको खाजामा चिया बिस्कुट खाँदा के हुन्छ ?
-
ब्रेन ट्युमरसम्बन्धी केही भ्रम र यथार्थ
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
प्रतिक्रिया