NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

धमलाको ‘टक शो’मा युवराज सफलले कुटे रवि लामिछानेका अधिवक्ता

अतिथि भिडाउने धमलाको पुरानै बानी, न्यौपाने भन्छन्– झुक्याएर बोलाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेर चर्चामा आएका युवराज सफलले ऋषि धमलाको टक शोमै अधिवक्ता यज्ञ न्यौपानेमाथि हातपात गरेका छन् । हातपातका कारण केहीबेर टेलिभिजन कार्यक्रम नै तनावग्रस्त बन्यो ।

प्राइम टाइम टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘जनता जान्न चाहन्छन् ‘ कार्यक्रममा सफलले अधिवक्तामाथि हात उठाएका हुन् ।

शुक्रबार टेलिभिजनबाट प्रसारित उक्त कार्यक्रमको सुरुवातमै धमलाले सफललाई मुद्दा हाल्ने, त्यो पनि रवि लामिछानेविरुद्ध भनेर परिचय गराउँदै त्यसैबाट छलफल अघि बढाएका थिए । जवाफमा सफलले रविको मात्र नभएर अन्यका विरुद्ध पनि आफूले मुद्दा हालिरहेको तर्क गरे । त्यसपछि धमलाले सफललाई पुनः अर्को प्रश्न गर्दै पछिल्लो समय रविप्रति पूर्वाग्रही देखिएको आरोप लगाए । यसमा उनले कसले यस्तो प्रश्न गर्यो ? जनतालाई सोध्नुस्, ल फोन गर्नुस् भन्छन् ।

यसपछि लामिछानेले न्यौपानेलाई सफलको कामलाई कसरी व्याख्या गर्नुहुन्छ भन्ने प्रश्न गर्छन् । त्यसक्रममा न्यौपानेले अदृश्य शक्तिबाट परिचालित व्यक्ति भएको टिप्पणी गर्छन् । यस्तो टिप्पणी गरेलगत्तै त्यसको तर्कद्वारा प्रतिवाद गर्न छाडेर सफल आक्रमणमा उत्रिन्छन् । यसक्रममा उनले न्यौपानेको कुममा हातले प्रहार गरेको देख्न सकिन्छ । आक्रमणपछि पनि सफलको आक्रोस मत्थर हुँदैन, उनी निकैबेर उक्त आरोप प्रमाणित गर्न चुनौती दिइरहन्छन् ।

सफलले अमर्यादित हर्कत टेलिभिजनको पर्दामा देखाइरहँदा रास्वपाका नेतासमेत रहेका न्यौपाने भने निकै संयमित र मर्यादित देखिएका छन् । कुनै आवेग नदेखाइ उनले त्यसको शालीनतापूर्वक प्रतिवाद गरिरहन्छन् । धमलाले झगडा साम्य पारेर अघि बढाउने प्रयास योबीचमा नगरेका होइनन् । तर न्यौपानेले सफलले हातपात गरेकोप्रति माफी माग्नुपर्ने अडान लिएपछि समाधान निस्किँदैन, कचिंगल चलिरहन्छ । रोचक त के भने ठूलै बहादुरी गरेजस्तो टेलिभिजनका अतिथिबीचको झगडालाई जस्ताको तस्तै दर्शकलाई देखाइएको छ ।

चतुर धमला लामो प्रयासपछि भुटानी शरणार्थी प्रकरण प्रवेश गराएर विषयान्तर गर्न सफल हुन्छन् । यसअघि सफलले माफी नमागेसम्म नबोल्ने बताएका न्यौपाने यो विषय आएपछि भने स्वाभाविक लयमा छलफलमा सहभागी हुन्छन् । अघि उत्तेजित बनेर हातपातमा उत्रिएका सफल पनि अघिल्लो विषय छाडेर कुरा गर्न तयार हुन्छन् ।

झुक्याएर बोलाइयो : न्यौपाने

न्यौपानेका अनुसार, उनले केही समयअघि नै सफलसँग आफूले कुनै पनि मिडियामा अन्तर्वार्ता नदिने बताएका थिए । ऋषि धमलाले कार्यक्रममा आमन्त्रण गर्दा पनि उनले यो कुरा स्मरण गराएका थिए ।

तर धमलाले झुक्याएर आफूलाई सफलसँग भिडाएको न्यौपानेको भनाइ छ । ‘मैले पहिले नै सफलसँग बहस गर्दिनँ भनेको थिएँ । झुक्याएर किन उहाँसँगै भिडाउनु भयो ?’ न्यौपानेले कार्यक्रममा पटक पटक धमलालाई यस्तो प्रश्न गरे । तर  उनले सुनेको नसुनै गरेर टारे ।

अतिथिलाई जुधाउने धमलाको पुरानै स्वभाव

हातपात र झैझगडा जुनसुकै मञ्चमा हुनु हुँदैन । अझ समाजलाई मार्गदर्शन गर्ने टेलिभिजनलगायत सञ्चारमाध्यममा त यस्ता घटना हुनै  कल्पनासम्म पनि गर्न सकिँदैन ।

चर्चाका लागि मर्यादित पत्रकारितालाई पन्छाउँदै आएका धमलाले आफ्ना टेलिभिजन कार्यक्रममा अतिथिबीच मुठभेड नै गराउने गरी आमन्त्रण गर्ने गरेका छन् । लाइभबाहेकका कार्यक्रममा भएका हातपात जस्ताको तस्तै देखाउनुले पनि उनको व्यावसायिकता र नियत के हो भन्ने प्रष्ट हुन्छ । यसअघि पनि उनको कार्यक्रममा यसैगरी पटक पटक अतिथिबीच हातपात भएको छ । गाली गलौज त उनका टेलिभिजन शोमा अब सामान्यजस्तै भइसकेको छ ।

शुक्रबारको यो घटना पत्रकारिताका लागि लज्जाको विषय हो । तर ऋषि धमला र उनी नेतृत्वको टेलिभिजनले यसमा कुनै कमजोरी भएको महसुस गरेको छैन । बरू ठूलै बहादुरी गरेजस्तो गरी यो विवादित कार्यक्रमलाई सामाजिक सञ्जालमा प्रमोशन गरिएको छ । युट्युवमा त शीर्षक नै छ, ‘युवराज सफलले रविका नेतालाई स्टुडियोमै पिटेपछि हंगामा, ३६ सय सेना लगाएर ज्यान मार्ने धम्की ।’

शुक्रबार प्रसारित उक्त कार्यक्रममा एक अतिथिले अर्को अतिथिमाथि हात हाल्दा पनि धमला निकै प्रसन्न मुद्रामा देखिएका छन् । सफलबाट कुटाइ खाएका न्यौपानेले ‘म असुरक्षित भए, यसको म्यानेज गर्नुस्’ भनेपछि मात्रै धमला बल्ल उठेर सफललाई थामथुम गर्ने प्रयास गर्छन् ।

धमलाले टक शोमा ल्याएर अतिथिबीच झगडा गराएपछि सामाजिक सञ्जालमा अहिले चर्को आलोचना भइरहेको छ ।