ज्ञानेन्द्र शाह मन्दिर जाँदा झलनाथ आक्रोसित : किन भयो उनीमाथि आक्रमणको प्रयास ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा मंगलबार वामपन्थी नेताहरूले राजधानीको अनामनगरमा एक अन्तक्र्रिया कार्यक्रम राखेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको नयाँ संसद भवनमा नेपालको लुम्बिनी, कपिलबस्तुलगायत क्षेत्र समेटेर मुरल नक्सा रोखेकोमा विरोध जनाउनु र प्रधानमन्त्रीलाई सचेत गराउनु कार्यक्रमको उदेश्य थियो । त्यस कार्यक्रमको प्रमुख अतिथि थिए, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल ।
कार्यक्रमको सञ्चालन वामपन्थी नेता एवं विश्लेषक साध्यबहादुर भण्डारीले गरेका थिए । वक्ताहरूमा नेकपा(क्रान्तिकारी माओवादी)का प्रवक्ता सीपी गजुरेल, नेकपा(माले) का महासचिव सीपी मैनाली, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री लगायत उपस्थित थिए । कार्यक्रमको सुरूमै आफूलाई सन्तोष राजावादी भन्ने एक युवा मञ्चमा उक्लिए । युवाहरूले पनि बोल्न पाउनुपर्ने माग राखे । त्यसपछि माइक हातमा लिएर नेताहरूमाथि खनिए ।
‘मलाई बोल्न त खासै मन थिएन । म एक देशभक्त राजावादी हुँ । आज हाम्रो देश मिचिएको होइन बेचेको हो । यो देशको मालिक राजा ज्ञानेन्द्र हुन् । राजालाई तिरस्कार गरेर बेलायतका राजालाई सम्मान गर्न गइरहेका छन् नेताहरू’, ती युवाले भने, ‘राजा भारत जाँदा सम्मानपूर्वक नेता, मन्त्रीहरू भेट्न आउँछन् तर यी नेताहरू जाँदा राज्यमन्त्री पनि भेट्न आउँदैनन् ।’
त्यसपछि उनी खनालमाथि निकै आक्रोसित भएर खनिए । ज्ञानेन्द्रको विरोध गर्ने हैसियत खनालको नभएको भन्दै ज्ञानेन्द्र शाहलाई ज्ञानबहादुर शाही नभन्न उनले चेतावनी दिए । त्यसक्रममा खनाल र ती युवाबीच केहीबेर भनाभनको स्थिति सुरू हुन्छ । स्थिति तनावग्रस्त हुने देखिएपछि आयोजकले उनको माइक खोसेर लिन्छन् । त्यसपछि आक्रोसित युवाहरूले नाराबाजी गर्दै खनालमाथि आक्रमण प्रयास हुँदा सुरक्षा गार्डलाई समेत जोगाउन हम्मेहम्मे परेको थियो ।
ज्ञानेन्द्रलाई के भनेका थिए खनालले ?
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले पूर्वराजा शाहमाथि खनिएका थिए । देशभरका मन्दिर चाहर्दैमा राजगद्दी फिर्ता हुने सपना नदेख्न उनले चेतावनी दिएका थिए । खनालनको त्यहि चेतावनीलाई लिएर युवाहरू आक्रोसित हुँदै नेताहरूमाथि नाराबाजी गरेका थिए ।
‘पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस्’, शाहलाई चेतावनी दिँदै उनले भनेका थिए, ज्ञानेन्द्र शाहीजी राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन ।’
आफूमाथिको आक्रमण नरोकिए प्रतिरोधमा उत्रने चेतावनी
आफ्ना नेतामाथि आक्रमणको प्रयास भएपछि बुधबार एकीकृत समाजवादीले विज्ञप्ति जारी गर्दै तत्काल ती युवाहरूलाई पक्राउ गरी कारवाही गर्न माग गर्यो । यसैगरी पार्टी निकट युवा संघले आफ्ना नेतामाथिको आक्रमण प्रयास नरोकिए प्रतिरोधमा उत्रिने चेनावानी दिएको छ ।
खनालमाथि दुव्र्यवहार गर्ने सन्तोषसहित ९ जनालाई बुधबार प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको छ । आफूमाथि गरिएको दुव्र्यवहारप्रति खेद प्रकट गर्दै खनालले बिहीबार पत्रकार सम्मेलन नै गरे । मंगलबार भएको घटनाबारे जानकारी दिँदै त्यहाँ गुण्डाहरूको ग्याङ नै आफ्नो बदनाम गर्न उपस्थित भएको बताए ।
‘हिजो म एउटा कार्यक्रममा गएँ । त्यहाँ वामपन्थी नेताहरू भेला हुँदैछन् भनिएको थियो । म जाँदा कार्यक्रमको रूप अलि भिन्दै रहेछ, जुन कुरासँग म सहमत छैन,’ खनालले स्पष्टीकरण दिँदै भने, ‘यस्तो बोल्न पाइँदैन भन्दा त गुण्डा ग्याङ नै आएको रहेछ । त्यो ग्याङले नारा लगाउन थाल्यो । विभिन्न ढंगले ‘फलाना चोर देश छोड’ भनेर नाराहरू लगाइयो । हिजो पञ्चायतकालमा लोकतन्त्रका लागि, राष्ट्रियताका लागि, न्यायका लागि लड्नेहरूका विरूद्ध त्यतिबेलाका मण्डलेहरू आक्रमण गर्थे । तिनै मण्डलेहरू ब्युँताउन कोसिस भएको छ ।’
पत्रकार सम्मेलनमा खनालले गुणगर्दी गर्ने काम बन्द नगरे राजावादीहरूको कुनै पनि कार्यक्रम चल्न नदिने चेतावनी दिएका छन् ।
‘म ज्ञानेन्द्र शाहलाई भन्न चाहन्छु । तिम्रा यी स–साना सेनालाई मैले भन्नुपर्ने छैन । तिनीहरूले ‘टिट फर ट्याट’ पाउँछन् । जहाँ जे गर्छन्, त्यही फिर्ता लिनुपर्ने स्थिति आउँछ’, उनले चेतावनी दिए ।
गुण्डागर्दी गर्ने, अराजकता मच्चाउने इच्छा भए त्यो इच्छा पूरा नहुने र अहिले नै हिसाबकिताब हुने उनले ज्ञानेन्द्रलाई चेतावनी दिए ।
प्रतिक्रिया