NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सदनमा प्रधानमन्त्रीको स्पष्टीकरण : कालापानीको सट्टापट्टामा मैले कुनै विकल्प दिएको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा उठेको प्रश्नको जवाफ संसदलाई दिएका छन् ।

सीमा समस्या स्थायी रूपमा समाधान हुने कुरा भारतीय प्रधानमन्त्री आफैले प्रतिबद्धता गरेकाले नेपालीले खुशी मनाउनु पर्नेमा दुःखी भएकोमा उनले गुनासो पोखे ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एमाले, रास्वपा र राप्रपा लगायत विपक्षी दलहरूले उठाएको प्रश्नप्रति प्रचण्डले असन्तुष्टी पोखे ।

‘भूमिसम्बन्धी विषयमा यताउता भयोकी भन्ने विषयमा माननीयजीबाट आएका कुतर्कले म असाध्यै चिन्तित र पीडित पनि भएको छु । भारत भ्रमणमा भएको सहमतिबाट खुशी मनाउनु पर्नेमा दुःखी भएको देख्दा म निकै चिन्तित र पीडित भएको छु’, उनले भने, ‘नेपालका विभिन्न बुद्धिजीविले उठाउँदै आएका विषयलाई मैले स्मरण गराएको मात्र हो । विपक्षी एमाले नजिक रहेका विज्ञहरूले नै उठाएका विषयलाई मैले सम्बोधन गर्न खोजेको हो । त्यो मेरो भनाइ होइन । मेरो भनेको नेपालको भूमि नेपालकै हो र हुनुपर्छ भन्नेमा म अडिग छु । त्यसैले यस्ता गम्भीर विषयमा अतिरञ्जित गर्नु उपयृुक्त हुँदैन ।’

सदनमा प्रधानमन्त्री प्रचण्डले कालापानीको विषयमा आफूले कुनै विकल्प नदिएको जिकिर गर्दै उनले यसमा कुनै भ्रममा नपर्न आग्रह गरे ।

राजनीतिक विषयमा समकक्षी मोदीसँग दीर्घकालीन समस्या समाधानका लागि कुराकानी भएको र उर्जा व्यापार सम्झौता भ्रमणको ठूलो उपलब्धी भएको उनले तर्क गरे ।