NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रधानमन्त्रीले के भने ?

काठमाडौं । प्रधानमन्त्री पुष्यकमल दाहाल (प्रचण्ड) ले अहिलेको नागरिकता विधेयकलाई विपक्षी दलले अनावश्यक रूपमा विवादित बनाएको स्पष्ट पारेका छन् ।

विगतमा सत्तामा रहँदा विपक्षी दलले नागरिकता सम्बन्धी गरेका निर्णय र अहिलेको संशोधित विधेयकमा केही फरक नभएको स्पष्ट पार्दै उनले संसदमा विवरण पेश गरे ।

यो संशोधित विधेयकले दुईवटा प्रावधानमात्रै थप गरेको छ । गैर आवासीय नेपालीलाई नागरिकता दिने र जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानलाई नागरिकता पाउने । यी दुवै प्रावधानमा विपक्षी दलको सहमति रहेको हुँदा यसमा विवाद गरेर जनतालाई के बुझाउन खोजेकाे भन्दै उनले प्रश्न गरेका छन् ।

‘नागरिकतकाकोे विषयलाई अनावश्यक ढंगले विवादित बनाउँदा जनताले के गरी बुझ्ने ? पहिला एकै ठाउँमा अहिले दुईतिर कसरी भयो ?,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको विधेयक जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानका पीडामा मल्हम लगाउने हेतुले ल्याइएको बताएका छन् । नागरिकता विधेयकले महिलाका हकमा गरेका विभेदका विषय अझै छलफलकै विषय भएको र अहिलेको लागि नागरिकता पाउनबाट वञ्चित १५ लाखको समस्या समाधान गर्नु महत्त्वपूर्ण भएको बताए ।

‘नेपालमा विवाह गरेर आउने महिलाका हकमा केही प्रावधान राख्नुपर्छ भन्नेमा छौं,’ उनले भने, ‘अहिले जन्मसिद्ध नागरिकता पाएका बाबुआमाका छोराछोरीहरु प्रताडित भएका छन् । उनीहरू लागि मात्रै यो विधेयक ल्याईएको हो । अन्य विषयमा छलफल बाँकी नै छन् ।’
हाल यो विषय सर्वोच्च अदालतमा पुगिसकेको हुनाले यसमा थप विवाद गर्नु बेकार भएको उनको भनाई छ ।