NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सत्ता टिकाउन रेशम चौधरीलाई माफी दिइयो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले टीकापुर हत्याकाण्डमा अदालतबाट दोषी ठहर भई जेल सजाय सुनाइएका रेशम चौधरीलाई आममाफी दिइएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । तीनै तहका अदालतबाट सजाय सुनाइएका व्यक्तिलाई राष्ट्रपतिमार्फत आममाफी दिँदा दण्डहीनतालाई प्रश्रय र लोकतन्त्रलाई कमजोर पारेको उनले बताए ।

‘सत्ता नै गए पनि तीन वटै तहका अदालतबाट दोषी ठहर भई सजाय सुनाइएका रेशम चौधरीलाई आममाफी दिन हुँदैनथ्यो,’ नेपाली कांग्रेस जिल्ला कार्यसमिति, भक्तपुरले शनिबार आयोजना गरेको कार्यक्रममा कोइरालाले भने, ‘सत्ता टिकाउनका लागि सरकारले चालेको यो कदमले दण्डहीनतालाई प्रश्रय र लोकतन्त्रलाई कमजोर पारेको छ ।’

फरक प्रसंगमा नेता कोइरालाले कांग्रेस कमजोर नरहेको बताए । कांग्रेस सशक्त र जुझारु रहेको उल्लेख गर्दै उनले कार्यकर्तालाई हीन भावना नराख्न आग्रह गरे ।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमातहत राख्ने सरकारको निर्णयप्रति पनि उनले आपत्ति जनाए । यो निर्णय कार्यान्वयनमा गएमा निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने उनको तर्क छ ।

ताजा अपडेट

नेपालवाच विशेष