NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

मनसुन भित्रिन अनुकूल वातावरण बन्दै

काठमाडौं । पछिल्लो डेढसाता मुलुकका धेरै स्थानमा अधिकतम् तापक्रमले नयाँ कीर्तिमान राख्दा बढेको अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त भएको थियो । गर्मीका कारण तराई–मधेशमा कृषिदेखि आम मानिसको जनजीवन अस्तव्यस्त हुँदा संसद्देखि सामाजिक सञ्जालसम्म विभिन्न प्रतिक्रिया र आवाज उठेका थिए ।

सबैको एउटै जिज्ञासा थियो गर्मी कहिलेदेखि कम हुन्छ । अब केही दिनभित्रै नेपालमा मनसुन प्रवेदश गर्दैछ ।  नेपालमा मनसुन भित्रिने समय (जेठ ३०) नजिक पुग्दा त्यसका लागि अनुकूल वातावरण बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो ३० वर्षको मौसमी विश्लेषणअनुसार नेपालमा मनसुन भित्रिने समय जेठ ३० गते र बाहिरिने समय असोज १५ गते रहेको देखिन्छ । यस वर्षको मनसुन भित्रिने पूर्वसन्ध्यामा पश्चिमी वायुका साथै बङ्गालको खाडीको जलवाष्पयुक्त हावा र विहार आसपास भएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको देखिएको छ । यसले निर्धारित समयकै आसपास नेपालमा मनसुन भित्रिन्छ भन्ने सम्भावना बढेको महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए ।

उनले भने , ‘शनिबारदेखि नै कोशी प्रदेशमा तापक्रम घटिरहेको छ, बादल बनिरहेको छ र मनसुनका लागि आवश्यक अनुकूल वातावरण बन्दै गएको अवस्था देखिन्छ ।’ आन कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

साथै कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए। देशभर वृद्धि भएको अधिकतम् तापक्रम आजदेखि कम हुँदै जाने र पश्चिम तराई क्षेत्रमा बढेको तापक्रम केही दिन स्थिर रहने महाशाखाको भनाइ छ ।