जलहरीमा १० किलो सुन गायब भएको आरोप लागेपछि सदस्यसचिव थापाले रूँदै के भने ?

काठमाडौं । पशुपतिमा सुनको जलहरी लगाउँदा १० किलाे सुन गायब गरेको आरोप लागेपछि पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा भक्कानिएर रोहेका छन् ।
सिंहदरबारमा मंगलबार बसेको राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रमम थापाले आफूलाई बिना आधार सुन हिनामिना गरेको आरोप लगाएको भन्दै रोएका हुन् ।
सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको उनले बताए। उनले राष्ट्र बैंकसँगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको जिकिर गरे ।
सर्वोच्च अदालतको ‘स्टे अर्डर’ आएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र बाँकी १० किलो सुन पशुपतिनाथ मन्दिरमा नै रहेको उनले दाबी गरे। १० किलो सुनका कारण आफ्नो बेइज्जत भएको गुनासो पोख्दै उनले सुनमा हिनामिना भएको प्रमाणित भए मृत्युदण्ड भोग्न तयार भएको बताए ।
महालेखा परिक्षणको प्रतिवेदनले समेत जलहरीको परिमाणबारे प्रश्न उठाएपछि यो विषयमा संसददेखि सामाजिक सञ्जालसम्म पशुपति विकास कोषका पदाधिकारी र तत्कालीन ओली सरकार आलोचित भएका छन् । सोही विषयमा गतहप्ता माओवादीका सांसद लेखनाथ दाहालले संसदमा प्रश्न उठाएपछि विपक्षी एमालेले संसद नै अवरोध गरेको थियो । दाहालको अभिव्यक्ति संसद रेकर्डबाट हटाएपछि विवाद साम्य भएको थियो ।
प्रतिक्रिया