NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

भन्सार छल्न एयरलाइन्सको बिल नै नक्कली

काठमाडौं । भन्सार छली गर्न व्यापारीहरूले एयरलाइन्सको भाडाको बिल (एरोबिल) नै नक्कली बनाउने गरेको भेटिएको छ । राजस्व अनुसन्धान विभागले गरेको छानबिनमा केही आयातकर्ताले लामो समयदेखि भन्सारमा किर्ते बिल प्रयोग गरी भन्सार महसुल छल्दै आएको खुलेको हो । नक्कली एरोबिलबाट भन्सार छलीमा भन्सार कर्मचारीको समेत मिलेमतोको आशंका छ ।

शिव बुबा बिजनेस लिंक नामक कम्पनीले मात्र दर्जनौँपटक नक्कली एरोबिल पेस गरेको पुष्टि भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही फाइल झिकाएर विभागले अनुसन्धान गरिरहेको छ । जसमा सो कम्पनीले कम भन्सार तिर्न वास्तविक बिल लुकाएर नक्कली बिल पेस गरी कम भन्सार महसुलमा सामान पास गराउँदै आएको भेटिएको हो । सामान खरिदका साथै ढुवानी खर्चसमेत हेरेर भन्सार मूल्यांकन हुन्छ । भन्सार मूल्यांकनलाई प्रभावित पार्न यसरी नक्कली बिल प्रयोग हुने गरेको तथ्य खुलेको हो ।

केही कम्पनीले नक्कली एरोबिल प्रयोग गर्दै आएको विषयमा छानबिन भइरहेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटाले पुष्टि गरे । ‘केही कम्पनीले नक्कली एरोबिल प्रयोग गरेको पुष्टि भएको छ,’ उनले भने, ‘यसमा विस्तृत अनुसन्धान गरिरहेका छौँ ।’

शिव बुबा कम्पनीले चीनबाट सामान आयात गर्दा भन्सार छली गरेको हो । सो कम्पनीले धेरैजसो कृषिजन्य औषधि तथा औजार आयात गर्दै आएको छ । स्रोतका अनुसार विभागले तीन महिनाअघिदेखि नै यो विषयमा छानबिन गर्दै आएको छ । शंकास्पद एरोबिलका विषयमा विभागले सम्बन्धित एयरलाइन्स कम्पनीलाई पत्राचार गरेको थियो । जसमा एयरलाइन्सले ती एरोबिल आफूहरूले जारी नगरेको पुष्टि भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।